शिक्षा

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमले विद्यार्थी संख्यासँगै गुणस्तरमा सुधार

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएका कारण विद्यार्थी संख्यामा वृद्धि हुनाका साथै गुणस्तरीयता पनि बढ्दै गएको छ ।

समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोचका साथ अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन शुरु गरिएको विद्यालयमा यस शैक्षिक वर्षमा एक हजार ८८ जनाले अध्ययन गरिरहेका छन् ।

अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएसँगै विद्यार्थी संख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै आएको र संख्या वृद्धिसँगै गुणस्तरीयता पनि वृद्धि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले बताए ।

अंग्रेजी तथा नेपाली दुवै माध्यममा गुणस्तरीय शिक्षाका साथै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप एवं आवश्यक सबै किसिमका भौतिक पूर्वाधार विकासलाई विद्यालयले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।

हालै प्रकाशित एसइई परीक्षामा विद्यालयका विद्यार्थीले प्राप्त गरेको नतिजाले आफूहरूलाई थप उत्साहित बनाएको उनले बताए ।

विद्यालयका शैक्षिक संयोजक कृष्णप्रसाद तिवारीका अनुसार यस वर्षको एसइई परीक्षामा विद्यालयका १२ जना विद्यार्थीले ‘ए’ प्लस ल्याउन सफल भएका छन् । त्यस्तै ‘ए’ ल्याउने विद्यार्थीको संख्या २३ रहेको छ भने ‘बी’ प्लस ल्याउने २४ जना र ‘बी’ ल्याउने ११ जना छन् ।

समयसापेक्ष गुणस्तरीय शिक्षा दिने सोचसँगै २०७१ सालदेखि अंग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएकामा त्यसयता विद्यालयलाई विद्यार्थी एवं अभिभावक दुवैले विश्वास गर्ने वातावरण बनेको बताउँदै अध्यक्ष आचार्यले परीक्षाफलमा पनि वर्षेनी प्रगति हुँदै जानुले थप उत्साहित बनाएको धारणा राखे ।

“विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि हामी हरसम्भव प्रयास गरिरहेका छौँ” उनले भने, “गुणस्तरीयताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार विकासको क्रमलाई पनि सँगसँगै अघि बढाएका छौँ ।”

विद्यालयकी छात्रा नम्रता काफ्लेले यस वर्ष एसइई परीक्षामा ३।९ जिपिए प्राप्त गरेको जानकारी दिँदै आचार्यले उक्त नतिजा जिल्लास्थित सामुदायिक विद्यालयमा उत्कृष्ट भएको दाबी गरे ।

विसं २०७१ मा ३५० विद्यार्थी रहेको विद्यालयमा उक्त संख्या वार्षिकरुपमा क्रमशः वृद्धि हुँदै २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० विद्यार्थी रहेकामा यस वर्ष एक हजार ८८ जना पुगेको छ ।

विद्यालयले २०७१ सालदेखि नै विद्यालयले वर्षे र हिउँदे बिदाका रुपमा दिँदै आएको बिदाका समयमा पनि विद्यार्थीलाई नियमितरुपमा पठनपाठन गराउँदै आएको छ । विद्यार्थीबाट अतिरिक्त कुनै शुल्क नलिएर बिदाका समयमा अध्यापन गराउने शिक्षकलाई एक महिनाबराबरको अतिरिक्त सुविधा उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीको मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक शैक्षिक वर्षमा चार चरणमा परीक्षा लिने गरिएको छ ।

प्रविधिलाई पनि पछ्याउँदै आएको विद्यालयले यस वर्षदेखि सरस्वती टीका मोबाइल एप सञ्चालनमा ल्याएको छ । एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी हेर्न सकिने एपमार्फत अभिभावकले विद्यार्थी विद्यालय पुगे/नपुगेको, गृहकार्य गरे/नगरेको आदि सम्बन्धमा जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै विद्यालयमा शिक्षक उपस्थित अनुपस्थित भए/नभएको एपमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकले थाहा पाउनसक्ने व्यवस्था मिलाइएको छ ।

विद्यालयले दुवै माध्यमको पठनपाठनका साथै गुणस्तरीयतालाई जोड दिँदै व्यवस्थापकीय पक्षसमेत प्रभावकारी बनाइएका कारण परीक्षाफलमा पनि आशातित सफलता हासिल भएको विद्यालयका शिक्षक राजुप्रसाद पौडेलले बताए ।

कास्की जिल्लामा सामुदायिक विद्यालयतर्फ धेरै विद्यालयले नतिजा राम्रै ल्याएको भए पनि जिल्लागत समग्र विवरण भने अझै तयार भइनसकेको शिक्षा विकास एवं समन्वय शाखा कास्कीका उपसचिव गोविन्द पोखरेलले बताए ।

“हामी एसइई परीक्षाको जिल्लाको समग्र विवरण तयार गर्ने क्रममा छौँ”, उनले भने, “प्राविधिक गडबडीका कारण कतिपय विद्यार्थीको परीक्षाफल पनि परिवर्तन भएका कारण यकिन विवरण तयार आउन बाँकी छ ।” पोखरेलका अनुसार यस वर्षको एसइई परीक्षामा जिल्लाबाट १० हजार २६२ जना परीक्षार्थी सहभागी भएका थिए ।