स्वास्थ्य

पूर्ण खोप सुनिश्चित घोषणा

खजुरा । स्थानीय डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवले सो घोषणा गर्दै बालबालिकाका लागि खोप अमृत रस भएकाले यसलाई कहिलै पनि छुटाउन नहुनेमा जोड दिए ।

उनले खोप कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सोवाको स्थानीय सरकारले कदर गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्य परेकाले घर घरमा स्वास्थ्य अभियान गरी यसमा सुधार ल्याइने बताए ।

उक्त गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले पूर्ण खोप घोषणाको अवस्था तथा समग्र गाउँपालिकामा स्वास्थ्य अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाअन्तर्गत साठी वर्ष पुगेका महिला स्वयंसेवीहरू सुन्दरा लोनिया, जन्नतुल सल्मानी र जाहिरा बेगमलाई जनही रु २० हजार प्रदान गर्नुकासाथै बिदाइ गरिएको थियो ।

गाउँपालिकामा खोप सेवा लिने जन्मेदेखि एक वर्षका बालबालिकाको संख्या एक हजार १०९ पुगेको छ । जिल्लाका आठवटा स्थानीय तहमध्ये डुडुवासँगै खजुरा र वैजनाथ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भइसकेका छन् ।