राजनीति

बाबुआमा मध्ये एकजना तीब्बती र एकजना नेपाली भएका तिब्बतीको प्रधानमन्त्रीलाई यस्तो आयो गुनासो

हरि लामिछाने /चीन, ल्हासा, तिब्बत । छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरे ।

त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले महत्वपूर्ण वार्ता गरे । उनीहरुबीच दुई सरकारबीच सहयोगका बारेमा महत्वपूर्ण विचार विमर्श भयो । यो वार्ता दुवै सरकारका लागि निकै महत्वपूर्ण मानिएको छ ।

ल्हासा झरेकै दिन प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो भने त्यसको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष छिटलाबीच महत्वपूर्ण वार्ता भयो । यो वार्ता नेपालको उत्तरी भूभाग १४१४ किलोमिटर क्षेत्र यसै तिब्बतसँग जोडिएकाले सीमा क्षेत्रका विविध विषयमा विचार विमर्श भएको बुझिएको छ ।

त्यसैगरी बेइजिङमा भएको यातायात प्रोटोकलसम्बन्धी सम्झौताका विषयमा पनि महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले जानकारी दिए । उनले यस सम्झौताबाट नेपाल र नेपालीले व्यावहारिकरुपमा फाइदा उठाउन सक्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

तिब्बेतियन संस्कृतिको झाँकी र परम्परासहित प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल पुगेको सरकारका उपाध्यक्षले यहाँस्थित महावाणिज्य दूतावासले आयोजना गरेको रातिसम्मको कार्यक्रममा साथ छोडेनन्। प्रधानमन्त्री ओलीसँग उनी निकटमै रहेका थिए ।

प्रधानमन्त्री ओलीले यहाँका विश्वविद्यालयका प्राध्यापकसँग पनि भेटवार्ता गर्नु भई दुई सरकारबीचको सम्बन्ध र शैक्षिक क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गरे ।
भ्रमणका क्रममा यहाँस्थित महावाणिज्य दूतावास पुगेर प्रधानमन्त्री ओलीले त्यहाँको वस्तुस्थितिको जानकारी लिए । यहाँ भएका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताए ।

महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपालको सबैभन्दा पुरानो नियोगमध्येको ल्हासा वाणिज्य दूतावास भएको भन्दै तिब्बत सरकारसँग नेपालको मात्र नियोग रहेको जानकारीसमेत गराए ।

पुस्तौँदेखि तिब्बतमा बस्दै आएको नेपालीले वाणिज्य दूतावास पुगेर आफ्ना गुनासासमेत राखे । उनीहरुले दुवै देशको नागरिकता नहुँदा घर न घाटको भएको भन्दै गुनासा राखे । उनीहरुले तिब्बतमा बसोबास तथा व्यापार गर्ने एकमात्र आधार रहेको १० वर्षे हस्तलिखित राहदानीलाई मेशिन रिडेवल पासपोर्ट(एमआरपी) बनाई दिन अनुरोध समेत गरे ।

नेपाली दुःख निवारण कोषका अध्यक्ष कुन्जो धार्के नेपालीले भने, सन् २०२० देखि हस्तलिखित पासपोर्ट चल्दैन, त्यसपछि हामीलाई समस्या हुन्छ, हामीसँग भएको १० वर्षे हस्तलिखित राजधानीलाई एमआरपी बनाई दिनुहोस् ।

तिब्बतमा हाल करीब १५० जना नेपाली यस्ता छन्, जसका बाबु आमामध्ये एक जना नेपाली र एकजना तिब्बती छन् । हालसम्म न नेपाली नागरिकता न चिनियाँ नागरिकता नै । यहाँ यस्ता नेपालीलाई खचरा पनि भनिन्छ ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ल्हासाको छु सोइ काउन्टीमा रहेको चाइना नेसनल मोर्डन एग्रीकल्चर पाइलोट जोनको अवलोकन गरे । उनले त्यहाँको आधुनिक कृषि पद्धतिका विषयमा जानकारी लिए । त्यहाँका कृषकले उनलाई फार्समा उत्पादन गर्ने कृषिउपजबारे जानकारी गराएका थिए ।

त्यसलगत्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष निगरानीमा चलाइएको फोर सिजन ह्याप्पी भिलेजमा गएर करीब आधा घण्टा बिताए । उनले त्यस भिलेजमा बसोबास गर्ने जनता र सञ्चालन विधिबारे जानकारी समेत लिए ।

यो भिलेजमा घरबार नभएका र उच्च हिमाली क्षेत्रमा बस्ने तिब्बेतियन नागरिकलाई बसोबास र रोजगारीको व्यवस्था गरिएको छ । यस गाउँमा चीनको उच्च नेताले भ्रमण गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली स्थानीय थिएटरमा सञ्चालन गरिएको नाटकको अवलोकन गरे । उक्त नाटकमा स्रोङक्रोङ गम्पोको विवाहको कथा वस्तु समेटिएको थियो । यसरी प्रधानमन्त्री ओलीको ल्हासा बसाईले नेपाल सरकार र तिब्बत सरकारबीचको द्विपक्षीय परम्परागत ,ऐतिहासिक, सांस्कृतिक तथा व्यावहारिक सम्बन्धलाई थप उचाइमा पु¥याएको छ ।