साहित्य

देश निकाला गरौँ…..

(खेम लिम्बू)

को हो ऊ?
जो पीडाको अस्थिपन्जरहरू भेट्न
भत्केका गाउँ जान्छ
अनि आएर जोड जोडले चिच्याउँछ
नाकको डाँडी भाचौँ भन्दै।

को हो ऊ ?
जो पहिरो खसिरहेको भीरमा पुग्छ
र डोर्याएर ल्याउँछ एक जोडी मुस्कान
आगो लाग्दै गरेको झोपडीमा पस्छ र
अघि सारेर आउछ एउटा जिन्दगी।
किन यसरी कुकृत्य गर्दैछ ऊ ?

परदेशमा कलिला मुनाहरू
बेचेर पनि त कसैको रोजगारी चलेको छ।

टेबुल मुनि बाट
जनताको आँशु पिएर पनि त
कसैको जीवनको प्यास मेटिएको छ

कमिसन र ठगीले पनि त
कसैले श्रीमतीलाई साडी जोडेको छ
आफूलाई गाडी जोडेको छ।

के यीनका चुल्हो निभाउनू ?

के ठान्छ होला ऊ ?
नेपालमा बसेर पनि भ्रष्टाचार गर्न नपाउनु ?
पुलिङ्ग भएर पनि बलात्कार गर्न नपाउनु ?
दाँत भएर टोक्न अनि नंग्रा भएर चेथर्न नपाउनु ?
भएको पुच्छर हल्लाउन नपाउनु ?
आफ्नो निजी देशमा मन लाग्दो गर्न नपाउनु ?

को दानव हो ऊ ?
जसले हाम्रा देवादीदेवका निद्रा हराम गरिदियो ?
के अब देवताले शासन गर्न नपाउनु ?

त्यो माइक शंख हो ?
त्यो कलम त्रिशुल हो ?
किन बित्थामा हल्ला मच्चाउदै छ ऊ हरेक बिहान ?
भगवानहरूको नगरमा बसेर
भगवानलाई नै किन औँला देखाउदै छ ऊ ?
किन मान्छेको भाषा बोल्छ ऊ,
किन भगवान बन्न खोज्दैन ?

यो कस्तो बिचित्र प्राणी ?
किन परमाधिपतिको बिरूद्धमा कुर्लिरहेछ।
यसले देवलोक भाँड्दै छ।
आउनोस् मेरा बुद्धिजीवि साथीहरू
प्रिय नगरवासीहरू
यो दानवलाई देश निकाला गरौँ
र देश जोगाऔँ।

#ImWithRabiLamichhane
Cp !