देश

भारतीय मजदुरको करेन्ट लागेर मृत्यु

राजविराज । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको छ ।

भारतको सुपोल जिल्लाको भटनिया निवासी २५ वर्षीय सञ्जीवकुमार यादवको घरमा निर्माणसम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

गायक झाको घरमा नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो । उपचारका लागि भारदहस्थित अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।