पत्रपत्रिका

बीपी राजमार्गमा यस्तो यन्त्र जडान गरिदैँ !

काठमाडौं । बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको छ । साँघुरो, घुमाउरो सडकमा मापदण्ड भन्दा विपरीत सवारीसाधनले ओभरलोड बोक्न थालेपछि सरकारले सवारी भार मापन यन्त्र जडानको प्रक्रिया अगाडि बढाएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । धुलिखेल–नेपालथोक सडक खण्ड निर्माण भएको १६ वर्ष पुगेको छ । अहिले उक्त सडक खण्डको अवस्था निकै अस्तव्यस्त बन्न पुगेको छ ।

सडक स्तरोन्नति र मर्मत कार्य भए पनि क्षमताभन्दा बढी भार भएका सवारी साधन ओहोर दोहोर हुँदा कालोपत्रे छ महिना पनि टिक्न गाह्रो हुने गरेको सडक विभागले बताएको छ । नेपालथोक–धुलिखेल सडख खण्ड दिनप्रतिदिन भत्किनुमा मुख्य कारण ओभरलोड भएका ट्रिपर सञ्चालन भएको निष्कर्ष सडक विभागको छ ।

जाइकाले दिएको रिपोर्टअनुसार सवारीको वजनसहित यस राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न मिल्दैन । अहिले सर्वोच्च अदालतले १० टनभन्दा माथिको सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश दिए पनि २० टनसम्मका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । सरकारले मापदण्ड लागू गरेपछि कुन सवारी साधनले कति भार बोक्छन् भन्ने मापन अहिलेसम्म हुन सकेको छैन् ।