देश

बाँफीकोट कर्णालीको पहिलो छुवाछूत मुक्त गाउँपालिका

रुकुम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ ।

जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच बाँफिकोटलाई घोषणा गरिएको हो ।

बाँफीकोट गाउँपालिकामा ७० प्रतिशतभन्दा बढी छुवाछूतको अन्त्य भएपछि घोषणा गरिएको आयोजकले बताएका छन् । यहाँका सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्य चौकीलगायतका सार्वजनिक स्थानमा कुनै पनि छुवाछूत नरहेको गाउँ कार्यपालिका सदस्य एवं दलित अगुवा मनबहादुर बादीले बताए ।

यसका साथै गैरदलित र दलितबीच पनि वैवाहिक सम्बन्ध हुने गरेको र सबैका चुलो, घरआँगनमा पनि आवतजावत हुने गरेको सद्भावयुक्त गाउँपालिका घोषणा गरिएको उनको भनाइ छ । मंगलबार कर्णली प्रदेशका सामाजिक विकासमन्त्री दल रावतले कर्णाली प्रदेशको पहिलो छुवाछूत तथा सद्भाव युक्त गाउँपालिका घोषणा गरे ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने उनले यसबाट अब कर्णाली प्रदेशमा अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने र जातकै नाममा हुने विभेद्को अन्त्य गर्नुपर्ने बताए। समाजमा रहेका यस्ता कुसंस्कारलाई अन्त्य गर्नका लागि सबै लाग्नुपर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षता रहेको घोषणा कार्यक्रममा प्रदेशसभा सदस्य रातो कामी, सीता नेपाली, गोपाल शर्मा, देवी ओलीको पनि सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति, रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, उपप्रमुख इन्दिरा बिएम, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको पनि उपस्थिति रहेको थियो ।