प्रदेश 1

रेडियो, एफएम र टेलिभिजन विधेयक पारित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सम्बन्ध वा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गरी कार्यक्रम प्रसारण गर्न रोक लगाइएको छ ।

विधेयकमा राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने जस्ता कार्यक्रम प्रसारण गरे रु १० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ । पछिल्लो समय प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्दता र अराजकता बढ्दै गएको सन्दर्भमा प्रदेश सरकारले सो विधेयक ल्याएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

बैठकमा आजै आन्तरिक मामिलामन्त्री कार्कीले जिल्लासभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबुल गरेका छन् ।