समाचार

हिमालय एअरलाइन्सको विशेष उडानबाट प्रधानमन्त्रीको चीन भ्रमण दोस्रो पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमणमा मंगलबार जनगणतान्त्रिक चीनकोे राजधानी बेइजिङ हिमालय एअरलाइन्सको एयरबस ३२०, नेपाली दर्ता नम्बर 9N-ALW मार्फत प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्य सहित नेपाल सरकारका उच्चअधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली हिमालय एअरलाइन्सको एयरबस ३२० बाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त जहाज त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार ९ बजे उडेको थियो भने चीनको राजधानी बेइजिङस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार १६ः४९ (नेपाली समय अनुसार १४ः३४) बजे अवतरण गरेको छ ।

भ्रमणमा प्रधानमन्त्री सँगै सम्माननीय गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र सांसदहरु सहभागी छन् ।

भ्रमण टोलीका साथै विशेष उडानमा सहभागी भएका अध्यक्ष आङ छिरिङ शेर्पा र हिमालय एअरलाइन्स्का प्रमुख कप्तान झाउ ग्वोछ्याङलाई बिदाई गर्न एअरलाइन्स्का प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठ त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

उक्त अवसरमा श्रेष्ठले भने,“हिमालय एअरलाइन्स्ले पुनः एकपटक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको औपचारिक भ्रमणका लागि लिएर उड्न पाउँदा हामी खुशी र गौरवान्वित छौ । नेपाल सरकारले हाम्रो सेवाविस्तारमा गरेको सहयोगमा हामी कृतज्ञ छौं । दोस्रोपटकको यो अवसरले हामीलाई अझै बढी मेहेनत गरेर गुणस्तरीय सेवा प्रदान गर्नुका साथै नेपाली आतिथ्य संस्कार सहित यात्रालाई सुविधा सम्पन्न, सहज र सुरक्षित बनाउन प्रतिबद्ध छौ ।”

हिमालय एअरलाइन्स्ले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपदोहा, क्वालालम्पुर, दुबई र दमाममासिधा उडानभर्दै दोस्रो वर्ष सफलतापूर्वक पार गरेको छ । साटा गोल्ड अवार्डमा ‘नेतृत्वदायी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्– दक्षिण एसियामा यात्रुहरुको रोजाई ’विधामा अवार्ड हात पार्न सफल यस एअरलाइन्स्ले राष्ट्रसेवालाई अग्रस्थानमा राखेर सेवा प्रदान गर्दै आएको छ ।