पर्यटन/संस्कृति

हाँडीकोटमा पूर्वाधार बन्दै

बागलुङ । जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट जाने पदमार्ग निर्माण शुरु भएको छ ।

धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले पदमार्ग बनाउन लागेको हो । हाँडीकोट नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङ्खानीको सिमानामा अवस्थित छ । व्याड्थलादेखि हाँडीकोटको धुरीमा पुग्न करीब तीन किलोमिटर पदमार्ग निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

चालु आवमा विनियोजित रु दुई लाख बजेटबाट एक सय मिटरमा पदमार्ग बनिसकेको छ । आगामी आवको बजेटबाट बाँकी काम पूरा गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख लीला रानाले बताउनुभयो । “व्यवस्थित र पर्यटनमैत्री हिसाबले पदमार्ग बन्छ,’ उनले भने, “हाँडीकोटलाई पर्यटकीय गन्तव्य बनाउन नगरपालिका अग्रसर छ ।”

हाँडीकोट पुग्ने बाटोस्तरीय नहुँदा पर्यटकलाई झण्झटिलो यात्रा गर्नुपर्ने बाध्यता छ । आन्तरिक पर्यटकको रोजाइँमा परेको हाँडीकोटमा पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य नगरपालिकाको छ ।

समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित हाँडीकोट ऐतिहासिक महत्वका कारण परिचित छ । भुरे टाकुरे राजाको पालामा दरबार रहेको हाँडीकोटमा प्राचीन महत्वका वस्तु तथा कला छन् ।

ढुंगामा कुँदिएका हस्तकला र शिलालेख अहिले पनि रहेको स्थानीयवासी मित्र थापाले बताए । उनका अनुसार साधु सन्तले ध्यान, साधनाका लागि बनाएका कुटीका अवशेष पनि हाँडीकोटमा छन् । मनोरम हिमशृंखलाको अवलोकनका साथै प्राकृतिक सौन्दर्यमा रमाउने पर्यटकका लागि हाँडीकोट राम्रो गन्तव्य मानिन्छ । हाँडीकोटमा शिव मन्दिर रहेको छ ।

यहाँ शिवरात्रीमा ठूलो मेला लाग्ने गरेको वडा नं १० का वडाध्यक्ष नरबहादुर थापाले बताए । “प्रचारप्रसार नहुँदा हाँडीकोट ओझेलमा परेका छ,” उनले भने । नगरपालिका नहुँदै तत्कालीन राङखानी गाविसले हाँडीकोट संरक्षणको काम गर्दै आएको थियो । हाँडीकोटसँग सिमाना जोडिएका सबै वडाले हाँडीकोटको विकासलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष थापाको भनाइ छ ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जैविक हिसाबले समेत हाँडीकोटको महत्व छ । हाँडीकोट क्षेत्रमा बहुमूल्य जडीबुटी समेत पाइने स्थानीवासी बताउछन् । जैमिनी नगरपालिकाले यसलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्य लिएर काम अघि बढाएको छ । सदरमुकामदेखि तीन घण्टा कच्ची सडकको मोटर यात्रापछि हाँडीकोट पुग्न सकिन्छ ।