अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम एक्कासी चीन भ्रमणमा किन ?

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लागेका समाचार छ । उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लागेका हुन् । सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएका छन् । तर उनी बुधबार मात्र राजधानी बेइजिङ पुग्ने समाचार चिनियाँ टेलिभिजन सिसिटिभीले दिएको छ ।

नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गरेका थिए । उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लागेको बताइएको छ ।

उनी मङ्गलबार चीन पुगे भने गएको मार्च महिनादेखि नै यो तेस्रो पटकको चीन भ्रमण हुने छ । उनी जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुगेका थिए ।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँग उनले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

साथै उनले राष्ट्रपति र चिनियाँ नेताहरुसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ ।

गत मार्च यताको किमको यो तेस्रो पटकको चीन भ्रमण हो । चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ ।

सैन्य अभ्यास स्थगित

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अमेरिका र दक्षिण कोरियाले अर्को महिना गर्ने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको जनाएका छन् ।

उनीहरुले उक्त सैन्य अभ्यास स्थगित गरेको पुष्टि पनि गरेका छन् । सिङ्गापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने बाचा उत्तर कोरियाली नेतासँग गरेका थिए ।

उत्तर कोरियाले सैन्य अभ्यास आफूविरुद्ध लक्षित भएको बताउँदै आएको छ । उसले उक्त सैन्य अभ्यास सञ्चालन गरेमा दुई कोरिया र उत्तर कोरिया अमेरिकाबीच सम्पन्न शिखर वार्ता र सम्झौताहरुको उल्लङ्घन हुने पनि बताएको छ ।