खेलकुद

बूढीगंगालाई मेयर कपको उपाधि

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बूढीगंगाले हात पारेको छ । आयोजक बूढीगंगाले त्रिवेणी नगरपालिकालाई पराजित गर्दै सो उपाधि जितेको हो ।

घरेलु मैदानमा बूढीगंगाले अन्तिमचरणको खेलमा सोझो सेटमा पराजित गरेकाले उपाधिको प्रमुख दाबेदार मानिएको पाहुना टोली त्रिवेणी नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ ।

बूढीगंगाले जितसँगै रु ५५ हजार, ५५५ नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्राप्त गरेको छ भने उपविजेता त्रिवेणीले रु ३३ हजार ३३३ नगद, प्रमाणपत्र तथा पदक प्राप्त गरेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवालले जानकारी दिए ।

छेडेदह गाउँपालिकालाई पराजित गर्दै तृतीय स्थान प्राप्त गरेको त्रिभुवनेश्वरी मावि त्रिवेणीले रु २२ हजार २२२ नगदसहित प्रमाणपत्र र प्राप्त गरेको छ ।

विजेता टोलीलाई नगर प्रमुख दीपकविक्रम शाह, उपप्रमुख तारा खाती, जिल्ला खेलकूद विकास समिति अध्यक्ष हिक्मत थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । खेल भानोदय माविको मैदानमा आयोजना गरिएको हो ।

नगरपालिकाको सहयोग र जिल्ला खेलकूद विकास समितिको आयोजनामा गरिएको खेलमा १० टोलीले भाग लिएका थिए । तीमध्ये गौमुल, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बडिमालिका नगरपालिकासहित आयोजक बूढीगंगा नगरपालिकाका खेलाडीको सहभागिता थियो ।

गाउँ तथा नगरपालिकास्तरमा खेलकूदका गतिविधि बढाउन मेयर कपले सहयोग पुगेको आयोजक बूढीगंगा नगरपालिकाले बताएको छ । युवालाई खेल क्षेत्रमा आकर्षण बढाउन र स्थानीय तहबीचको आपसी सम्बन्ध स्थापित गर्न प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको नगर प्रमुख दीपकविक्रम शाहले बताए ।