सूचना प्रविधि

मानवअधिकार र सञ्चार तालीम

रामपुर, पाल्पा । मानवअधिकार र सञ्चार विषयक दुईदिने तालीम पाल्पामा सोमबार शुरु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको तालीममा जिल्लाका मानव अधिकारकर्मी र पत्रकारका लागि तालीम आयोजना गरिएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण बढेको बताए । उनले राजनीतिमा व्यापारीकरण बढेको भन्दै त्यसको अन्त्यको लागि सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।

गरीब र निमुखा नागरिकको हकहितमा मानवअधिकारकर्मी र सञ्चार क्षेत्र समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए । पत्रकार सेनानी मेघराज शर्माले मानवअधिकार उल्लंघन भएका घटनालाई सञ्चारकर्मीले खोजीखोजी बाहिर ल्याउनुपर्ने बताएका छन् ।

पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष भगवान भण्डारीले प्रत्येक नेपालीको घरमा मानवअधिकारको प्रत्याभूति गर्ने वातावरण बनाउन सञ्चारमाध्यम लाग्नुपर्ने बताए ।

प्रशिक्षक यज्ञप्रसाद अधिकारीले विकासका लागि मानवअधिकारमुखी पद्धति र चन्द्रकान्त चापागाईले मानवअधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय विषयमा सहजीकरण गरेका छन् ।

इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सेनाले पाल्पा जिल्लामा मानवअधिकार रक्षकको अवस्था र चुनौती तथा पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशलले मानवअधिकार संरक्षणमा पत्रकारको भूमिका विषयमा सहजीकरण गरिरहेका छन्। पत्रकार महासंघ पाल्पा र मानवअधिकार निगरानी समूहको समन्वयमा हिजोबाट चलेको तालीम आज सकिनेछ ।