आर्थिक

लप्सीजन्य उत्पादनमा ऋण सदुपयोग गर्नुस्

भक्तपुर । साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडाशैनीले लप्सीजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनका लागि नेपाल सरकारले प्रदान गर्ने ऋणको सदुपयोग गर्न उद्यमीलाई आग्रह गरे ।

साना तथा मझौला व्यवसायी महासंघ नेपाल तथा प्राइम कमर्शियल बैंक लिमिटेडको संयुक्त आयोजनामा भक्तपुरको साँगामा भएको तीनदिने दिगो उद्यमका लागि गुणस्तरीय लप्सीजन्य उत्पादन विषयक तालीमको सोमबार समापन गर्दै उनले सरकारले उपलब्ध गराउने ऋण लिन र सदुपयोग गर्न उद्यमीलाई आग्रह गरेका हुन् । उनले महासंघको तर्फबाट उद्यमीलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।

कार्यक्रममा प्राइम कमर्शियल बैंकका कर्जा प्रमुख अनन्त चापागाँईले व्यवसायीलाई व्यवसायको आधारमा तथा उत्पादनको आधारमा कर्जा प्रवाह तथा छुटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनले व्यवसायीलाई निरन्तररुपमा व्यवहारमुखी शिक्षा, तालीम, गोष्ठीलगायत कार्यक्रम सञ्चालन गरिरहने बताए ।

कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष इनु पौडेल, केन्द्रीय सदस्य रविन थापा, कुलबहादुर काफ्ले, सहभागीको तर्फबाट पूर्ण कुमार कर्माचार्य, नारायणदेवी सैंजु श्रेष्ठ, प्रविधिविज्ञ सिद्धीबहादुर जोशीलगायतले लप्सी उद्योगका बारेमा चर्चा गरेका थिए ।