पु.समाचार

डा देवकोटाको निधनबाट अपुरणीय क्षतिः नेपाली काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उहाँको निधनले काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी हजारौँको जीवन बचाउन सफल डा देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको बताएका छन् ।

काँग्रेसले डा देवकोटाको निधनबाट चिकित्सा जगत्मा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ, विज्ञप्तिमा भनिएको छ, “दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उनले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने छ ।”

आज हेटौँडामा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले डा देवकोटाको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पनि वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधनप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।