शिक्षा

कर्णालीमा दक्ष प्रसूतिकर्मी बिषयको अध्यापन हुने

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दक्ष प्रसूतिकर्मी (मिडवाइफ्री) शिक्षालाई अध्यापन गराउने भएको छ ।

नेपाल नर्सिङ परिषद्ले स्नातक तहको सो विषय अध्यापनका लागि आज प्रतिष्ठानलाई औपचारिक रुपमा अनुमति पत्र दिएपछि यो सम्भव भएको हो ।

यो बिषयको अध्यापन आगामी साउनबाट शुरु हुने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतष्ठानले विगत एक वर्षदेखि प्रयासरत् थिए ।

प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लले कर्णालीमा पहिलो पटक स्नातक तहको अध्ययन शुरु हुने बताए ।

“अहिले स्टाफ नर्स र एचएको मात्र अध्यापन हुँदै आएको छ,” उनले भने, “हाम्रो लामो प्रयास र तयारीपछि अन्ततः दक्ष प्रसूतिकर्मीको अध्यापनका लागि अनुमति पाएका छौँ, छिट्टै सूचना प्रकाशन गरेर भर्ना प्रक्रिया अगाडि बढाउँछौं, आउँदो साउनबाट यो बिषयको पढाई शुरु गर्ने तयारी छ ।”

रजिस्टार काफ्लले अबको हाम्रो लक्ष्य डिजिपी र एमबिबिएस कार्यक्रम ल्याउनु हो भन्दै यसका लागि स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र अन्य सरोकारवाला निकायसंग छलफल, समन्वय र सहकार्य भइरहेको बताए ।

ती विषयमा अध्यापन शुरु भयो भने यसले समग्र कर्णाली प्रदेशको विकासमा ठूलो सहयोग प्राप्त हुनेमा पनि उनले विश्वास व्यक्त गरे ।

सुत्केरी हुने समयमा विभिन्न दक्ष प्रसूतिकर्मी नहुँदा हरेक वर्ष नेपालमा धेरैको संख्यामा सुत्केरी आमा र नवजात शिशुको अकालमै ज्यान जाने गरेका छन् ।

नर्सिङ परिषद्ले यो बिषयको अध्यापनका लागि यो वर्ष १० जना भर्नाका लागि प्रतिष्ठानलाई अनुमति दिएको छ । नेपालमा यो बिषयको अध्यापन स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) र काठमाडौँ विश्वविद्यालयमा भइरहेको छ । दक्ष प्रसूतिकर्मी विषय पढाउनेमा प्रतिष्ठान तेस्रो संस्था हो ।

न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौँ विश्वविद्यालय धुलिखेलबाट १६ जनाले मिडवाइफ्रीको अध्ययन गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले देशको कुनाकाप्चासम्म दक्ष प्रसूतिकर्मी पु¥याउन आवश्यक नीतिनियम तर्जुमा गर्ने गृहकार्यमा लागि परेको छ ।

पेशागत मिडवाइफ्री (प्रसाविका) को विकास गर्नका लागि सन् २००६ मा सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो ।

मिडवाइफ्री जनशक्ति तयार गर्न दर्जनौँ बैठक तथा अन्तरक्रिया भए पनि त्यसको व्यवहारिक कार्यान्वयन भने निकै ढिलो मात्र शुरु भएको हो । मिडवाइफ्री जनशक्ति तयार गर्न छुट्टै पाठ्यक्रमअनुसार अध्यापन प्रारम्भ गरिएको थियो । उत्पादन गरिएका दक्ष प्रसूतिकर्मीलाई देशका जुनसुकै ठाउँमा गएर सेवा दिन सक्ने खालको पाठ्यक्रम तथा नीतिनियम बनाउन आवश्यक भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष प्रा किरण बर्जाचार्यले कुनै पनि गर्भवती, प्रसूति र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफ्रीले ठूलो भूमिका खेल्ने बताउँदै यसका लागि दक्ष जनशक्ति बढाउनुपर्नेमा जोड दिए ।

“नेपालमा तत्काल सात हजार दक्ष प्रसूतिकर्मीको आवश्यकता छ,” उनले भने, ‘‘देश संघीयतामा गईसकेकाले दक्ष प्रसूतिकर्मीको अझ धेरै महत्व छ ।’’

स्वास्थ्य संस्थामा यो विषयको छुट्टै बिषयगत दरबन्दी सिर्जना गरी यसको व्यवस्थापनका लागि स्पष्ट नीति बनाउनुपर्ने सुझाव अध्यक्ष बर्जाचार्यको छ ।

विशेषगरी दुर्गम र ग्रामीण क्षेत्रमा गर्भवती हुने उमेरका महिला, गर्भवती तथा सुत्केरीका लागि दक्ष चिकित्सकको उपलब्धता नहुने भएकाले उनीहरुका लागि दक्ष मिडवाइफ्रीले ठूलो राहत पु¥याउन सक्ने दावी उनको छ ।

ठूलो संख्यामा अहिले पनि गर्भवती घरमै सुत्केरी गराउने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सकिएको छैन् । त्यसैले स्वास्थ्य संस्थाको सहज पहुँच नपुगेका दुर्गम तथा ग्रामीण क्षेत्रमा मिडवाइफ्रीको खाँचो अझ बढी छ ।

सुत्केरी र नवजात शिशुको मृत्युदर कम गर्न नेपालमा यो शिक्षाको अपरिहार्य आवश्यकता रहेको सरोकारवालाको भनाई छ ।