आर्थिक

व्यापार घाटा सन्तुलनमा ल्याउन चीनसँग छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने बताएका छन् ।

मंगलबारदेखि हुन लागेको पाँचदिने चीन भ्रमणका विषयमा राष्ट्रियसभालाई जानकारी दिँदै उनले भने, “चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा काम पनि हुनेछैन, यो भ्रमणले दुई देशबीचको हित र सम्बधलाई थप सुदृढ बनाउने छ ।”

प्रधानमन्त्री ओलीले व्यापार घाटा सन्तुलनमा ल्याउने तथा जलविद्युत् क्षेत्रको विकास, रेल सेवा, ऊर्जा, पुननिर्माण, अन्तरदेशीय प्रसारण लाइन, पर्यटन प्रवद्र्धनलगायत विषयमा चीनको सहयोग र सहभागिताका विषयमा छलफल गरिने जानकारी दिए । चिनियाँ लगानी नेपालमा अभिवृद्धि गर्ने, उद्योग, संस्कृतिलगायत विभिन्न क्षेत्र र सीमावर्ती क्षेत्रमा दुई देशबीच कुनै पनि समस्या नआओस् र पारस्परिक लाभका आधारमा सम्बन्ध सुदृढ बनाउन योगदान पुगोस् भन्ने आधारमा चिनियाँ नेतासँग छलफल हुने प्रधानमन्त्री ओलीले बताए । गत आवमा नेपालको चीनसँगको व्यापारमा व्यापार घाटा करीब रु एक खर्ब पाँच अर्ब पाइएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकमा द्रुत रुपमा विकास गर्न छिमेकी राष्ट्रको पनि सहयोग लिनुपर्ने औँल्याउँदै सरकार गठनलगत्तै भएको भारत भ्रमणपछिको नतिजा देखिएको र तराईमा डुबानलगायत समस्या समाधान गर्न योजना बनाइरहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी लि खछ्याङको निमन्त्रणामा हुने मंगलबारदेखिको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीन फिङसँग शिष्टाचार भेट तथा नेताहरुसँग समेत भेट गर्नेछन् ।