गण्डकी प्रदेश

राजश्व र व्ययको वार्षिक अनुमान विषयक छलफल

पोखरा । प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरे आव २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु भएको छलफलमा आज पनि सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।

आजको छलफलमा भाग लिँदै सदस्यहरूले बजेटले संघीयताको संस्थागत विकाससँगै धेरै विषय र क्षेत्रलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै सबैको एकताबद्ध प्रयासमा कार्यान्वयन पक्षलाई प्रभावकारी बताउनु पर्नेमा जोड दिए ।

प्रदेश नं ४ लाई नमूना प्रदेशका रुपमा विकास गर्न बजेट आधारशीला भएको भन्दै सदस्यले बजेटले समेट्न नसकेका विषयलाई आगामी दिनमा समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिए ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेटले गाउँ र नगरपालिकालाई जोड्नका लागि सडकमा प्राथमिकता दिएको बताउँदै आर्थिक वर्षको शुरुमै गाउँगाउँमा विकास निर्माणले गति लिएसँगै बजेटको प्रभावकारिता देखिने उल्लेख गरे।

अर्का सदस्य धनमाया लामा पोख्रेलले बजेटले सबै क्षेत्रलाई समेटेको भए पनि प्रदेश नं ४ को महत्वपूर्ण उद्योगका रुपमा रहेको गोरखकाली रबर उद्योग सञ्चालनबारे ध्यान नपुगेको धारणा राखे ।

प्रदेशसभा सदस्य ललितकला गुरुङले ग्रामीण क्षेत्रमा रित्तिएको बस्तीलाई भरिभराउ नबनाएसम्म बाझिएको जमिनलाई उत्पादनमूलक बनाउन कठिन हुने धारणा राखे ।

आजको छलफलमा सत्ता पक्ष र विपक्षका गरी कूल २८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।