पर्यटन/संस्कृति

पर्यटन प्रवद्र्धनको पहल

बागलुङ । पर्यटन प्रवद्र्धनको उद्देश्यले बागलुङ पर्यटन विकास समिति गठन भएको छ । समितिले तत्कालीन कार्ययोजना बनाएर काम थालेको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढंगले पर्यटनको काम गर्ने संस्थाको अभाव थियो । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका क्षेत्रमा समितिले काम गर्ने अध्यक्ष राजु खड्काले बताए ।

सरकारी संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको खड्काको भनाइ छ । शुरुमा जिल्लाभरका पर्यटकीय सम्पदाको यथार्थ विवरण संकलन गरिनेछ । “तत्कालै जिल्लाको पर्यटकीय सम्भावना झल्कने वृत्तचित्र बनाउने योजना छ”, उनले भने। पर्यटन गुरुयोजना निर्माण र बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न पनि समितिले पहल थाल्नेछ ।

पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको बागलुङलाई पर्यटन बजारमा उजागर गरिने समितिका उपाध्यक्ष राज थापाले बताए । धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा सरकारको ध्यानाकर्षण गराइने उनको भनाइ छ । “सरकारी र निजी क्षेत्रको लगानीमा गर्न सकिने पर्यटन विकासका काममा पनि हामी समन्वय गर्छौं,” थापाले भने

समितिले जिल्लामा पहिचान बोकेका सांस्कृतिक पर्वको संरक्षण गर्न विशेष योजना बनाउने भएको छ । मेला, पर्वलाई व्यवस्थित र मौलिक स्वरुपमै सञ्चालन गर्न पहल गरिने थापा बताउन्छन्। संघ, प्रदेश सरकार र जिल्लामा रहेका सबै स्थानीय तहसँग सहकार्य गरिनेछ ।

समितिको उपाध्यक्षमा थापासँगै शेरमान घर्ती, सचिवमा अर्जुन चोखाल, सहसचिवमा निलेश राजभण्डारी र कोषाध्यक्षमा मुकेश राजभण्डारी रहेका छन् । सदस्यहरुमा दिल शिरीष, गण्डकी थापा, हिरा पुन, सुरज थापालगायत तथा लेखा समिति संयोजकमा विष्णु अधिकारी रहेका छन् ।