राजनीति

कार्यकारी राष्ट्रपति अघि बढाउनु निरंकुशतालाई आमन्त्रण गर्नु हो – नेता खाँण

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रसङ्गलाई अघि बढाउनु निरंकुशतालाई आमन्त्रण गर्नु हो भनेका छन्।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताउँदै सरकार विधिको शासनलाई कमजोर पार्न उद्यत भएको धारणा व्यक्त गरे ।

सरकार असहिष्णु भई लोकतन्त्रको आकर्षण र लोकप्रियतालाई समाप्त गर्ने दुष्कार्य गरिहेको आरोप लगाउँदै केन्द्रीय सदस्य खाँणले सरकारद्वारा संघीय संसद्मा प्रस्तुत बजेट जनतालाई कष्ट दिने भएको र यसले करको भार, मूल्य वृद्धि गरी त्राहिमामको अवस्था सिर्जना गरेको उल्लेख गरे ।

एक प्रश्नको जवाफमा उनले प्रतिपक्षीको भूमिका निर्वाहका सम्बन्धमा नेपाली काँग्रेसभित्र गम्भीर छलफल भइरहेको छ भन्दै अहिले प्रतिपक्ष कमजोर नभई सरकारको हनिमुन समयलाई दृष्टिगत गर्दै गतिविधि नियाँलिरहेको छ भने ।

नेता खाँडले संविधान संशोधनमार्फत मधेशको मागलाई सम्बोधन गर्नु आवश्यक रहेको तर यस प्रसंगमा मधेश केन्द्रित दलको भूमिका अपेक्षाकृत नभएको बताउँदै नेता खाँडले सङ्घीयता र लोकतन्त्रलाई बलियो पार्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु जरूरी छ भने ।