शिक्षा

सहयोग प्राप्त नभएपनि कलाको विकासमा परिषद्

काठमाडौँ । सरकारबाट कलाको विकासका लागि यथेष्ट सहयोग प्राप्त नभएपनि यस क्षेत्रको विकासको सम्भावना रहेको नेपाल कला परिषद्ले जनाएको छ ।

कलाकारले आफूहरुले सिर्जना गरेको चित्र, मूर्ति तथा काष्ठकला जनसमक्ष ल्याउने प्रमुख थलोका रुपमा परिषद्को विसं २०१९ मा स्थापना भएको हो ।

प्रारम्भका दिन वरिष्ठ कलाकार लैनसिंह बांङ्गदेलले नेतृत्व गर्दै आएको सो परिषद्मा हाल शताब्दी पुरुष सत्यमोहन जोशीले नेतृत्व दिइरहेका छन् ।

परिषद्का महासचिव शंकरनाथ रिमालले सफल कलाकार बन्न कलाकार आफैँले पनि कला निखार्न सक्नुपर्ने बताए ।

उनले सरकारी अनुदान नाम मात्रको पाउने गरिएको र वार्षिक एक÷दुई लाख पाउने आर्थिक सहयोगबाट कलाकारको क्षमता वृद्धि तथा कलाको विकासका लागि सक्दो प्रयास गर्दै आएको जानकारी दिए ।

परिषद्मा स्वदेशी तथा विदेशी कला प्रदर्शनी हुने गरेको छ । तर एकल चित्रकला प्रदर्शनी गर्ने तथा आर्थिकरुपमा कमजोर भएका आयोजकलाई केही शुल्कमा छुट दिने व्यवस्था गरिएको छ ।

लैनसिंह बांगदेल, तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्ट, मृगेन्द्र शम्शेर राणा, नाटककार बालकृष्ण समको सामूहिक प्रयासबाट कला परिषद्को स्थापना भएको थियो ।

धार्मिक तथा परम्परागत चित्र तथा पौभाजस्ता चित्रले नेपालको मौलिकपनको उजागर गर्ने महासचिव रिमालको भनाइ छ । कला क्षेत्रमा प्रवेश गरेका युवा कलाकारले आफ्नो भविष्य मौलिक कलाको सिर्जनाबाट गर्नसक्ने उनको विश्वास छ ।