प्रदेश 1

भूमे पर्वको शुभकामना आदानप्रदान गर्दै मगर समुदाय

खोटाङ । मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ ।

भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नपरोस्, अन्न बाली सप्रियोस् , सुव्यफाव्य होस् भन्ने कामना गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व हरेक मगर बस्तीमा मनाउने प्रचलन छ ।

भूमे पर्वका अवसरमा अहिले मौलिक बाजाको तालसँगै मौलिक पहिरनमा सजिएका मगर युवा तथा वृद्धवृद्धा भूमे नाच नाचिरहेका छन् । बाइस ताल र बाइस चालमा नाचिने यो नाच गोलो घेरा बनाएर नाचिन्छ ।

मानव सभ्यताको पहिचान झल्काउने गरी प्रदर्शन गरिने यो नाच पछिल्लो समय लोप हुँदै गएको मगर अग्रजहरु बताउँछन् । नेपालसहित हङ्कङ, बेलायत, सिङ्गापुरलगायत मगर समुदाय रहेको देशमा पनि पर्व मनाइन्छ । प्राचीनकालमा मगरले सञ्चालन गरेको राज्यसत्ता आपसमा हस्तान्तरण गर्दा स्वागत तथा बिदाइ समारोहमा समेत भूमे नाच नाच्ने गरिएको अग्रजहरु बताउँछन् । वर्षमा एक पटक मनाइने यस पर्वका अवसरमा अहिले मगर बस्ती तथा आसपासका खुला चौर भूमे नाच तथा गीतले गुञ्जिरहेको छ ।

नेपालसहित मगर समुदाय बसोबास गर्ने विभिन्न देशमा मनाइने यो पर्वलाई राज्यले विशेष प्रथामिकतामा राख्नुपर्ने नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले बताए । “हामी समानता चाहन्छौँ । एकअर्काको परम्परालाई सम्मान गर्छौं”, उनले भने, “तर मगर समुदायको यो भूमे पर्वलाई राज्यले बेवास्ता गरेको छ । आगामी दिनमा यस पर्वलाई पनि अन्य चाडपर्व जत्तिकै प्राथमिकता दिनुपर्छ ।”