बाग्मती

प्रदेश ३ को नाम नेपाल मण्डल हुनुपर्नेमा जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका नेताहरुले प्रदेश नं ३ को सरकारले यस क्षेत्रको नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन् ।

नेपाल भाषामा प्रकाशित हुने नेवा अनलाइन न्यूजको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेवा आन्दोलनको मुद्दा र आजको दिशा’ विषयक विचार गोष्ठीमा उनीहरुले प्रदेश नं ३ को नाम नेपाल मण्डल राख्नुपर्ने माग गरे ।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले उत्पीडित तथा जनजातिको माग संविधानमा अझै समेटिन नसकेको बताँउदै दुई तिहाइ कम्युनिष्टहरुको उपस्थिति रहेको संघीय सरकारले चाहेमा ३ नं प्रदेशको नाम नेपाल मण्डल घोषणा गर्न सक्ने तथा जनजाति तथा उत्पीडित वर्गलाई समावेशी प्रतिनिधित्व गराउन सक्ने बताए।

नेपाली काँग्रेसका महासमितिका सदस्य तीर्थराम डंगोलले विभिन्न दलमा रहेका नेवार समदायहरु एक हुन सकेमा नेवारहरुले आफ्नो हक तथा अधिकार खोसेर लिन सक्ने धारणा व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य दिलीप महर्जनले नेपालमा प्रजातन्त्र स्थापना गर्ने हरेक आन्दोलनमा काठमाडौँका नेवारहरुको निर्णायक भूमिका रहेको बताए । उनले ३ नं प्रदेशमा नामकरण गर्दा नेवार समुदायको पहिचान झल्काउनुपर्ने विचार व्यक्त गरे ।

राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार मल्ल के सुन्दरले नेवार समुदायले गरेको आन्दोलनका प्रतिफल अझै प्राप्त नभएको बताउँर्दै ३ नं प्रदेशको नामकरण नेवारी जनताको भावनाअनुरुप हुनुपर्ने तथा काठमाडौँ उपत्यकामा नेवार समदायका अद्वितीय कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश सरकारको ध्यान जानुपर्ने औँल्याए ।

नेवा दे दबूका अध्यक्ष नरेश ताम्राकार तथा नेवा अनलाइन न्यूजका अध्यक्ष सुजीव बज्राचार्यले नेवारी कला, संस्कृतिको महत्व र यसको संरक्षणका विषयमा बोलेका थिए ।