खेलकुद

प्रदेशस्तरीय तेक्वान्दो शुरु

भक्तपुर । भक्तपुरमा आजदेखि प्रदेश नं. ३ स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नं.३ को आयोजनामा सूर्यविनायकस्थित एक बैंक्वैटमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरे ।

कार्यक्रममा उनले सरकारले खेलकुदको विकासमा लगानी बढाउँदै गएको चर्चा गर्दै खेलबाटै बाँच्न सक्ने अवस्थाको विकास हुँदै गएकाले खेलप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताए ।

बाह्र जिल्लाका १२५ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ ५०–५४, ५४–५८, ५८–६३, ६३–६८ र ६८–७३ तौल समूह र महिलातर्फ ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ तौल समूहबीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष केशव पुरीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय तृतिय हुने प्रदेश टिम, खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।