राजनीति

उपप्रधान मन्त्री–पत्रकार भेट

विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताए । प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताए ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउने विचार व्यक्त गरे ।

दुई तिहाइ बहुमतको सरकारले मुलुकमा लोकतन्त्र, आर्थिक विकास र समृद्धिका निम्ति इमान्दारीपूर्वक काम गर्ने भन्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले सरकारले बोलेका एजेण्डाहरु पूरा गराउन चुनौती पनि रहेको धारणा राखे ।

संविधान संशोधनीय दस्तावेज भएकाले संसदीय अभ्यास, औचित्यको आधारमा संशोधन हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले राजनीतिक स्थिरता कायम गर्न पनि मुलुकमा बहुमतको सरकारको आवश्यकता थियो भने ।

उनले निकट भविष्यमा तराई तथा पहाडमा आउने बाढी र पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकार पूर्णरुपमा तयारी अवस्थामा रहेको बताउँदै विपद् व्यवस्थापन गर्न सरकारसँग उपलब्ध सबै स्रोत परिचालन गर्ने बताए ।

अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा सरकारले नछाड्ने भन्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली सेना सैनिक ऐन, २०६३ र नियमावलीको आधारमा चलिरहेको जानकारी दिए ।