सामाजिक सञ्जाल

हास्य कथा: पितामाताकाे नाममा किस्नेको पत्र (नहाँसी पढ्नुहोला)

काठमाडौँ । माझघरे खँड्काको जङ्गल पस्न बाँकी रहेको एउटै छोरो किस्ने हराएको पनि निकै वर्ष भइसकेको थियो । यस विचमा उनले पहाडको आफ्नो गाउँ, जिल्ला र मधेशमा समेत थाहा पाएका र उसले जान सक्ने ठाउमा सोधी खोजी गरे, मान्छे लाए, सुराक लाए, दसी प्रमाणका लागि अनेक उपाय गरे तर छोराको कुनै अत्तो पत्तो भएन । पुलिसलाई गरेको खबर पनि बेकार भयो । उसले ता जङ्गल पस्यो भन्ने कुरामा ठोकुवा नै गरिदियो । तर माझघरेलाई विश्वास भएन । मरेको बाँचेको केही खबर भएन । केही वर्षसम्म उनले बडो हन्डर खाएर हराएको छोरो खोजेकै हुन् । तर अब उनी आजित भइसकेका छन् । उनकी श्रीमतीलाई चित्त बुझाउन उनले ठुलो यत्न गर्नुपरेको थियो । छोरो हराएकी आमाको मन कसरी बुझोस् ! उनी आधी मासु भएर खाइनखाई बाँचिरहिन् । रेडियो भन्दछ उनका बाहेकका अरुअरुका छोराहरुले कताको सहादत पाए अरे । कुरा उति बुझिँदो पनि थिएन उनलाई । ती अरुका छोराहरु पनि उनैको छोराजस्तै घर आएनन् । सहादत भनेको सायद नआउने भए भनेको होला भन्ने ठानिन् । सहादत हुनु परेको तिनलाई ! घर छ, बारी छ आउनु नि भन्ने सम्म सोचिन् । भएको एउटा छोरो ता फर्किएर आउला कि भन्ने झिनो आसमा बाटो हेरिरहिन् । मनमा छोरो एक दिन आउँछ भन्ने कुरामा उनी निकै आशावादी भइरहिन् ।

उमेरले बूढो नभए पनि माझघरे खँड्का बूढा जस्ता देखिन थाले । कहिलेकाहीं कसैकसैको छोरो हराएका २०, २५ वर्षमा पनि घर फर्केको कुरा सुनाएर बुढीलाई ढाडस ता दिन्थे तर उनी पनि भित्रभित्रै कुँडिएका थिए । माया नै मारिसकेका थिए । उनकी पत्नीले ता आप्m्नो छोरो सहादत (नआउने) नै भएछ क्यारे भन्नेमा पुगिसकेकी थिइन् तैपनि झिनो आसा भने बोकेकै थिइन् ।

यसरी नै यिनीहरुका निकै बर्ख बिते । यी दुबैका मनबाट तिनका छोरा किस्नेले लगभग बिदा लिइसकेको थियो । वूढेसकालसम्म हेरविचार गर्ला भनेको र बाँकी रहेको एउटा छोरो पनि त्यसरी हराएकोमा उनीहरु व्यर्थको जीवन बाँचिरहेका अनुभव गर्थे, मानसिक रुपमा पनि गल्न पुगे । आँखा कम देख्न थाले, कान कम सुन्न थाले अनि आँगन नै परदेश हुन लाग्यो । तर एक दिन पल्लो गाउँको भर्तीवाल कार्कीले उनको छोरो पन्जाब फौजमा गएर भर्र्तिवाल भएको छ भनेर खबर गरेपछि भने उनीहरुको छोरो बाँचेकै रहेछ भन्नेमा पुगेका छन् । बुढो भएपछि पनि आसा पलाएको छ । हाँगाबिँगा सुकिसक्न आँटेको रुखमा पनि चिउला पलाउन लागेको जस्तो देखिन्छ ।

एक दिन अचानक उनको हातमा हुलाकीले उनका घरैमा आएर एउटा चिठी थमाएर गयो । बुढा उहिले भानुभक्ते रामायण बाँच्न सक्थे । नेपाली अक्षर कनीकुथी पढ्न सक्थे । यसैले उनले चिठी खोलेर पढ्ने विचार गरे । बुढी चाहिं पनि नजिकै आएर बसिन् । कतै छोरैको चिठी पो हो कि भनेर उनलाई खुलदुली परिरह्यो ।

“आएको के हो ?” बुढीले सोधिन् । तर बुढाले उनको कुरा अर्थाेकै सुने ।
‘केही खाएको छैन, के खाएको छु र ? यो बेर्थमा के भन्छे भन्छे ?” उनले आएकोलाई खाएको सुने ।
“के आएको भनेको पो त ?” कराएर सोधिन् ।
“ए कति कराएकी ? म सुन्दिन कि क्या हो ?” अझ दपेटे ।
‘“के हो आएको ? भनेर सोधेको ।” उनले स्पष्टीकरण दिइन् । बुढाले बल्ल बुझे ।

“चिठी आएको जस्तो छ । कताबाट आएको हो, हेरौं न त” भन्दै उनले पुरानो गान्धीमार्काको चस्मा लगाएर चिठी खोले । कसले पठाएछ त…. भन्दै घोरिएर चिठी पढ्नु अघि पठाउनेको नाम खोजे चिठीको पुछारमा ‘आपको पुतर किस्न खडका’ लेखेको देखियो । उनी झसङ्ग भए, कतै हराएको किस्नेले नै ता लेखेको होइन ? ए त्यो बाँचेकै पो छ कि के हो ? अस्ति पल्लो घरे भर्तीवाल कार्कीले भनेको कुरा साँचै पो हो कि कसो ? बाँचेकै भए अहिले त्यो तीस वर्षको भइसक्यो । कहाँ होला, के गर्दाे होला, उनको मनभरि खुल्दुली चले । बूढीले चर्काे स्वरमा हकारिन् “हैन, के लेखेको छ ? मैले सुन्नु हुने कुरा छैन कि कसो ?”

चर्काे स्वर पनि बूढाले सुनेनन् । अझै घोरिएर पठाउनेको नामै मात्र हेरिरहे । लामो सोचाइ पछि उनले अन्तमा आफ्नै छोरो जीवित रहेको रहेछ भन्ने लख काटे । तै पत्रको बाँकी भागबाट अझै पुष्टि होला कि भन्ने ठानेर पत्र पढ्न थाल्नु अघि अलिक चर्काे आवाजमा बुढीले सुन्ने गरी भने– “तेरो किस्नेकै चिठी जस्तो छ । चिठीका पुछारमा ‘आपको पुतर किस्न खडका’ भनेर लेखेको छ’ बाँचेकै पो छ कि के हो ?”
“के पुतर र सुतर भनेको ? मान्छेले सुन्यो भने के भन्छ ? लाज लाग्दैन बुढालाई !” बुढीलाई पुतर शब्दमा अश्लील शब्दको बोध भयो र साउतीको बोलीमा भनिन् । बुढाले के सुनुन् साउतीको बोली । तर सुनिने शब्दमा भने बुढालाई हकारिन् । “यस्ता कुरा अलिक बिस्तारो भन्नु पर्दैन ?!”
“लौ यो गोज्याङ्ग्री बुढीको कुरा सुनिदेओ है । म के भन्छु ऊ के सुन्छे ?’
“के भनेको अरे ?”
“किस्नेको चिठी हो कि जस्तो लाग्यो भन्या ।”
“को बिस्ने ? खरेल बिस्ने ?”

“तेरो बाजे !” झोक्किए । “मरिस् बैरी । बैरी छे । नकरा अब म चिठी पढ्छु । बरु नजिकै बसेर सुन् ।” उनले भने । अनि बूढीले बुढाकै मुखनेर कान लगिन् र सुन्न थालिन् । त्यसपछि बुढा चिठी पढ्न थाले । तैपनि उनले सुनिनन् । “पख एकछिन !” कराउँदै भित्र गइन् र आगो फुक्ने बाँसको सोते लिएर बाहिर आइन् । अनि बुढाका मुखनिर लगेर सोते लगेर राख्नै अर्कातिर आफ्नो काममा राखिन् । ‘लौ अब पढ म सुन्न सक्छु । तिमीले भनेको कुरा सबै यो बाँसको सोतेबाट मेरो कानमा पर्छ । म तिम्रो सानो बोली पनि सुन्न सक्छु ।” त्यसपछि बुढाले बाँसको सोतेनिर मुख पुर्याएर चिठी पढ्न थाले–

“पुजे आदर्निये ड्याड, मोम, बाबा आमा, सलाम, आदावत, सर्सियकाल ।”
बुढीले केही नबुझेर यसै बिच सोधिहालिन् ‘के भनेको यो ?’
बुढाले जवाफ दिएनन् । यसले निकै पक्की बोली सिकेछ, उनले अनुमान गरे । तर कुरा भने बुढाले पनि बुझेनन् । अनि भने “खै के भनेको के भनेको ? जान्दिनँ । अलिक पढेछ क्या हो, हुन ता नपढी भर्ती हुन कहाँ पाउँथ्यो र ? पक्की बोलीमा लेखेको जस्तो छ ।”

“अनि उहिले मनिहारी घाटमा अस्तु पुर्याउन गएर फर्किएपछि ता निकै पक्की बोली बोलेका थियौ त । उति बेला ता निकै डुग्गी हाँक्थ्यौ । अहिले बिर्सियौ कि क्या हो ? बुझेर पढ न त ।”
“आजको तारेखसम्म हुजुरहोरुको किर्पासे कौसल आरामै रहोन्छु ।”
‘त्यो चैं के भन्या नि ?”

“खै आरामै छु भनेको होला । मैले पनि पो राम्रो गरी बुझिनँ । पक्की बोली पनि कति फेरिइसकेछ । उहिले मेरा पालाको भन्दा ता निकै अघि बढेछ ।”
“सन्चै छ अरे ?” बुढीले सोधिन् ।

“काँ अन्तै छ अरे भन्छे ? नकरा । सुन् न भन्या । पढ्नै दिन्न अनि के बुझ्ने ?” बुढाले गुनासो गरे । अनि साेतेकाे छिँडतिर मुख पारेर फेरि पढ्न थाल्दै थिए त्यसै बेला सोधिन् बूढीले । “सन्चै छ अरे भनेर भन्या पो त ?”

“तैंले पढ्न पनि दिने भइन् । अन्तै छ कि कता छ के जान्नु । मैले चैं कसरी था पाउनु त ? मेरा कान पाकिसके । तँ मेरा कान नपका न ।” बुढाले बुढीको वचन फेरि पनि बुझेनन् र गनगनाए ।
“पकाउँला नि त । ऐले भात पाकेको छैन, पैले चिठी पढ न अनि पकाउँला । खाली खानको कुरा मात्र ।” बुढीले भनिन् । बुढीको छन्दनबन्दको कुरामा बुढाले वास्तै गरेनन् । अनि फेरि कनिकुथी गरेर चिठी पढ्न थाले—
“लास्ट इएर मैले पर्माेसन पाइलियो ।”
“के पायो अरे ?’
‘खै के पायो के पायो । पर्माेसन भन्छ ।’
‘बिहे गरेछ कि के हो, छोराछोरी पाएँ भनेको हो कि ?’
‘खै के हो के हो ? हो क्यार ।’
‘छोरो भएछ कि छोरी भएछ ? अगाडि फेरि पढ न ।”

‘मैले पर्माेसन पाइलिएँ, इस साल मेरो तनख्वा अलिक बढिया अच्छा छ । हमार साब बडो अच्छा छ । कौनै सिकायत गर्ने चान्स नदिई म रिकुरुटमा हुँ । हमार पलाटुनमा हमारकै बिरादरका दोस्तानाहोरु भी हुन् । यहाँ सब बढिया हो । कौनो चिन्ताको बात नाहीं । चिन्ता नाकर्नु होला । म छे माह बाद एक माहको बिदामा आफ्नो भिलिज गाउँ आउने हो । अर्काे माहको ग्यालह तारेखमा म सुखविन्दरका साथ उसको भिलिज गएको था । भिलिज बढिया लाग्यो । उसको मोम ड्याडले हमको भी पुतर मानिलियो, बहुत मोहबत करिलियो ।

अब मेरो भी सादीको बिचार छ । अडोस पडोसकै भी अच्छो बिरादरमा लडकी देखिलिइराख्नु हो । चुँकी देख्नेमा बढिया बिउटी भैजाओस् । मेरो जति अडुकिटेड नही भी हो तो भी चोलिजान्छ । आफूलाई पनि बहुको जरुरत पढिगयो होला । नानी, मामी, ताउ, पडोसको फिरिन्डहोरुलाई और अपने चाचा र फुफालाई मेरे ओरसे आदवत कहिदिनु होला !”
“केही बुझेको होइन, फेरि यी बुढाले पढ्ने ढङ्ग पनि पुर्याएनन् क्यारे । होइन नानी पनि पाइसकेछ कि कसो हो । मलाई त नातिनातिनाको मुख हेर्न पनि मिल्छ कि कसो हो ? एक त्यो किस्ने बाँचेकै छ कि कसो ?” बुढी फेरि बोलिन् ।

बुढीका कुराको वास्तै नगरी बुढाले निकै लामो चिठी पढे । फेरि पनि बुढीले बुझिनन् । नबुझे पनि नकराउनु भनेको कारण उनी चुपै लागिन् र बुढाका मुखनिर पुर्याएको सोतेबाट बुढाको आवाज कानैमा थापेर सुनिरहिन् । यसै विचमा उनले मन थाम्न नसकेर सोधिन् “के भनेको तेस्तो ? नानीका लागि चाचा किन्नु पो भन्या हो कि ?’
“खै के भनेको के भनेको ? गाउँघरमा के कसो छ भनेर सोधेको होला कि भन्छु ।” बुढाले भने ।
“यो किस्नेकै चिठी हो भन्ने तिमेरुलाई पक्का भयो ? ” सोधिन् बडो जोडले ।
‘खै चिठीको पुछारमा लेखेको नाम ता त्यस्तै छ । कुरा भने केही बुझ्न सकिनँ । ”
‘घर आउँदेन अरे ?’

“के डराउँथ्यो ? लाठे जवान मान्छे, तैपनि मैले यसको चिठीका सबै कुरा ता बुझ्नै पो सकिनँ । तै तलतिर लेखेको छ कि ? पढ्छु । नकराई सुन् है त” भन्दै सोतेका छिंडनिर मुख राखेर फेरि पढ्न थाले ।
“हुन्छ ।”

‘अडोसपडोस र बिरादरहरुमा के कोसो हो ? मोलाई केही समझमा छैन । बहुत लम्बा इन्तजारके बाद यो खत लिखिहालें । खत नलिखेकोमा हमे माफ कर्नुहोला । साथी दोस्तानाहोरुले मोलाई सम्झन्छ कि ? मैले लास्ट माहको चौदह तारेखमा रेडियोबाट मेसेज फलास गरेको थिएँ । पाउनुभयो होला । कोमिङ् सितम्बरको सोलह तारेखको छे बजे भोरैमा मेरो मेसेज पठाउँछु । रेडियो सुनिलिनुुहोला ।”
“के पठाएको रहेछ ? खै हामीले ता पाएनौ । बुढी फेरि कराइन् । के पठाएको अरे ?”

“रेडियो पठाइदिएको रछ क्या रे ।”
“आइपुग्यो त ?”
“आउँदै होला बाटो हेरौं न ।”
“अझै पढ न । के लेखेको छ अरु ?”
“बुझ्न सके पो पढ्ने !”
“आफू खुब पक्की बोली जान्ने भन्थ्यौ त ?”
“अब पक्की बोली चैं सधैं उस्ताउस्तै रहन्छ त तेरो बाजे ?” भन्दै उनी चिठी अझै पढिरहे— “इधर खैरियत सब ठिक छ । भोरमै जागा भएर रोजाना मोर्लिङ वाक कर्नुजानुपोर्छ । रासनको कोइ प्राब्लम छेन । भेज ननभेज, मटन, चिकेन……”

“बुढीलाई चिकेन शब्द सुन्नासाथ सरम लागेर आयो । मुख छोप्तै अरु कसैले ता सुनेन भन्ने भावमा ओरिपरि हेरिन् । “कस्तो बजिया रछ, के के लेख्या कैले पुतर भन्छ कैले चिकेन भन्छ । यो मोरा छिल्लीएछ । जे पायो त्यही लेख्छ । कसैको केटीसेटी ता बिताएको छैन त्यस मोराले ?” उनले त्यस शब्दमा त्यस्तै अर्थ लगाइन् ।

तर बुढाले वास्ता नगरी पढिरहे । “आतेजाते जर्नीको लागि भेइकल मिलिजान्छ । यता मान्छे कोही रास्तामा फुटपाथमा पाइदल हिंडिलिँदैन । बासमा सवार हुन्छ । हेल्थको लागि यो जगह खुब बढिया हो ।
अस्ति वारमा जानुमा हाम्रो पालाटुलन सिलिक्ट भाथ्यो । वारमा निकै जवाँहोरुले विर गति लिए । तर मोलाई केही प्राब्लम भएन । मेरै दोस्तानाहोरुले आफ्नो मातृभुमिको शर उचा करिलिए । तिनीहोरुलाई सहादतको बाद तोक्मा मिल्यो ।

“उसले वीर गति लिन सकेनछ ! यो बालकैदेखि अलिक कमजोर थियो । अहिले कस्तो भो कोनि । अहिलेसम्म पनि अलिक कमजोरै छ होला । त्यसैले होला उसले तोक्मा पाएन । उन्नति गर्दै गरोस् भगवानले एक दिन साथ दिन्छन् । तोक्मा पनि लिन्छ, विरगति पनि लिन्छ । हाम्रो आशीर्वाद छ छोरा म ईश्वरसँग प्रार्थना गर्दछु तैंले पनि वीरगति पाएर एक न एक दिन तोक्मा पाउलास् ।” पत्रको वाचनकै बिच बुढीले आशीर्वादको भाकामा भनिन् ।

“आजको तारेखसम्म खैरियतमा छु । आपको आसिर्वादसे आरामै रहोन्छु । नुतन निउज खबर भए खत लिखिलिउँला, रपट गरम्ला । आजको खत यतै बन्द गोर्छु । आजके लिए मोलाई बिदा टाटा, बाइबाइ सर्सियकाल आदावत…
जय हिन्द । बन्दे मातरम् ।”
‘चिठी सकियो ?” सोधिन् आँखाबाट आँसु पुछ्तै ।
“सकियो !!” भने बुढाले । आँखामा आसुँ रसाएछन् उनका पनि ।
“के बुझेऊ त ?” सोधिन् आँसु पुछ्तै ।
‘केही केही मात्र बुझें निकै पक्की बोली सिकेछ, हुन पनि यो हराएको अहिलेको वर्ष ठ्याक्कै बीस लागेछ ।”

उनीहरुले निकै बेर कुरा नबुझेकोमा पछुतो गरे । अनि बुढाले भने—“हैन चिठीबाट ता हाम्रो किस्ने बाँचेकै रहेछ भन्ने बुझियो । तर चिठीको बेहोरा सबै बुझिनँ ।” उनी अलिक दोधारमा परे । अब यस पत्रको सम्पूर्ण बेहोरा कसरी थाहा पाउने ? यसको आवश्यक जानकारी कसले गराइदिने होला ? किस्ने बाँचेको बुझाइमा उनी एकातिर खुसी थिए भने अझै पनि सबै कुरा बुझ्न नसकेकोमा उनलाई पनि चिन्ता पर्यो ।
अन्तमा खँड्किनी बुढीले पत्रमा रहेको सबै भाका र त्यसको सबै आशय बुझ्ने इच्छा जाहेर गरिन् र एउटा जुक्ति झिकिन् र कराउँदै भनिन्—
‘होइन त्याँ हाइकुलमा साँइनस पढाउने मास्टर छन् नि लखनदेव चतुर्भजिया । उनलाई बोलाएर ल्याउन न । यो चिठीको सबै कुरा खुलस्त हुने गरी उनले बुझाइदिन्थे कि ? उनी ता पक्का बोलीमै बस्ने मान्छे हुन् नि ।”

बुढीको जुक्ति निकै काम लाग्दो लाग्यो खँड्का बुढालाई । अनि चिठी पट्याएर राखे र भोलिपल्ट चतुर्भुजियाकोतिर जाने विचार गरेर आफ्नो साबिक काममा लागे ।

-होम सुवेदीको फेसबुक टाइमलाइनबाट जस्ताको त्यस्तै साभार गरिएको