लुम्बिनी

देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल । देवदह नगरपालिकाले स्थानीय परिवेश र पहिचानका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी नगरभित्रका विद्यालयमा लागू गरेको छ । गौतमबुद्धको मावलीस्थलमा रहेको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठ्यपुस्तक संस्थागत र सामुदायिक दुवै विद्यालयका कक्षा ६ र ७ मा लागू गरेको हो ।

गतवर्ष ६ कक्षामा मात्र शुरु भएको पाठ्यपुस्तक यसवर्ष नेपाली र अंग्रेजी दुवैमाध्यमबाट अध्यापन शुरु हुने पुस्तक विमोचन कार्यक्रममा देवदह नगरपालिकाका तर्फबाट जानकारी गराइएको छ ।

प्रदेश नं ५ का सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालले संघीय ढाँचामा मुलुक अघि बढेपछि स्थानीय सरकारले गर्ने यस्ता प्रयासले हरेक क्षेत्रमा स्वावलम्बी क्षमताको विकास गर्छ भन्ने विश्वास गरे ।

उनले बुद्धको मावलीबाट शुरु भएको यो अभियान अब प्रदेशभरी र देशभरीका स्थानीय तहले प्रेरणा लिनसक्ने बताए । उनले स्थानीय पाठ्यक्रम विद्यालयस्तरमा धेरै स्थानमा लागू गर्ने प्रयास भए पनि नगरभरि एकरुपताका साथ नगरपालिकाको स्थानीय उद्देश्य पूरा गर्ने गरी ल्याइएकोमा रामो्र रहेको बताए ।

पाठ्यक्रम निर्माण समितिका संयोजक सिद्धिचरण भट्टराईले देवदह नगरपालिका बनेसँगै स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रमको अवधारणा नगरपरिषद्ले पारित गरेर अगाडि बढेको स्मरण गर्दै २०७६ सालसम्म यो पाठ्यक्रम परीक्षणको रुपमा लागू हुने बताए। त्यसपछि परिमार्जन गरी पूर्ण रुपमा लागू गरिनेछ ।

जिल्ला शिक्षा कार्यालयको स्थानीय पाठ्यक्रम निर्धारण समितिको बैठकबाट गतवर्ष कम्प्युटर शिक्षालाई १०० पूर्णाङ्क बाट ६० मा रुपान्तरण गरी ४० पूर्णाङ्क बौद्ध शिक्षा र देवदह परिचय राख्ने र पाठ्यभार ६० रहने निर्णय भएको कार्यक्रममा जानकारी गराइएको थियो ।