समाचार

पत्रकार अर्यालको निधन

चितवन । राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी धर्मराज अर्यालको आज यहाँ ६३ वर्षका उमेरमा निधन भएको छ ।
श्वासप्रश्वास समस्याबाट ग्रस्त उनी दुई दिनअघि चितवन मेडिकल कलेजमा उपचारपछि घरफर्किनु भएको थियो । भरतपुर महानगरपालिका–१० स्थित आफ्नै निवासमा बिहान ११ः३० बजे उनको निधन भएको हो । विसं २०१२ मंसिर २७ गते चितवन, कोराकमा जन्मेका अर्या पत्रकारिता विषयमा स्नातक थिए । उनले १५ वर्षसम्म राष्ट्रिय समाचार समितिमा पत्रकारका रुपमा रहेर काम गरेका थिए । क्षेत्रीय कार्यालय पोखरा, बुटवल लगायत क्षेत्रमा रहेर उनले राससमा सेवा गरेका थिए।

उनले राससमा रहँदा फ्रान्सस्थित एएफपीमा दुईमहिने तालीमसमेत लिएका थिए। यसका अतिरिक्त पत्रकारितासम्बन्धी विभिन्न तालीममा सहभागी भएका थिए । उनले चितवन जिल्लामा २०५४ साल पुस ९ गतेदेखि ‘चितवन पोष्ट’ साप्ताहिक चलाई २०५६ साल साउन १ गतेदेखि दैनिकको सम्पादक प्रकाशक रहेका अर्याल निरन्तर पत्रकारितामा क्रियाशील थिए ।

उनी साहित्यिक क्षेत्रमा पनि क्रियाशील थिए । उनका चार कविता संग्रह प्रकाशित छन् । उनका कान्छा छोरा भाष्करका अनुसार उनले निरन्तर ४० वर्ष पत्रकारिता गरेका थिए । अर्यालका दुई छोरा र श्रीमती छन् । उनको आजै देवघाटमा अन्त्येष्टि गरिँदैछ ।