राजनीति

न्यायमूलक समाज निर्माण गर्नेमा मन्त्री थापाको जोड

भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अहिलेको स्थिर सरकारले देशलाई आर्थिक, विकास र सामाजिक रुपमा समृद्ध बनाउँदै न्यायमूलक समाज निर्माण गर्ने बताए ।
आज गठ्ठाघरस्थित आस्था महिला विद्यालयको दशौँ वार्षिकोत्सवमा उनले संविधानको मर्मलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जनताको साथ र सहयोग आवश्यक रहेको बताए। जनताको साथ र सहयोग रहेमा आगामी पाँच वर्षभित्र सरकारले सजिलै देशको आमूल परिवर्तन गर्दै आर्थिक र सामाजिक रुपमा देशलाई समृद्ध बनाउन सक्ने जानकारी दिए ।

शिक्षा मन्त्रालयका उपसचिव बद्री पौडेलले महिलाले स्थापना गरेको यो विद्यालय नमूनाका रुपमा अगाडि बढेको चर्चा गरे । पूर्वसभासद् केदार सञ्जेल, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, विद्यालयकी प्रिन्सिपल पार्वती ज्ञवाली लगायतले पढाइ छाडेर वा पढाइबाट वञ्चित भएर बसेका महिलाका लागि यो विद्यालय बरदान साबित भएको चर्चा गरे ।

त्यस अवसरमा विद्यालयले प्रकाशित गरेको ‘आस्था’ स्मारिका लोकार्पण गर्नुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।