देश

खानेपानीमा कोलिफर्म भेटियो

डडेल्धुरा । जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको हो ।

खलंगा खानेपानीको मुहान खुल्ला रुपमा खोला नै भएकाले मानिसलगायत घरपालुवा तथा जंगली जनावरले दिशा–पिसाब गर्नाका साथै रूखका पात, झारहरु खस्ने र सुकेर कुहिएपछि त्यसबाट पनि कोलिफर्म कीटाणु उत्पादन हुने भएकाले पानी फिल्टर गर्दा कोलिफर्म भेटिएको डिभिजन प्रमुख राजकुमार शाक्यले बताए ।

पहाडी जिल्लामा तातो र रातो रगत हुने प्राणीहरुको दिसाबाट निस्कने कीटाणु कोलिफर्म हुने र यसबाट पखाला, आउँ, हैजाजस्ता महामारी फैलिने उनले जानकारी दिए । कार्यालयसँग भएको पानी फिल्टर गर्ने उपकरण डेल एक्वाकिटमा सय मिलिटिर पानी राखेर जाँच गरी फिल्टर गर्दा कोलिफर्मको झुण्ड देखिएको उक्त कार्यालयले जनाएको थियो ।

अमरगढी नगरपालिका सदरमुकाम क्षेत्रमा व्यवस्थित रुपमा खानेपानीका पाइप लाइन विस्तार भएका छैनन् । पाइप खुला र फोहर, नालीबाट गएका कारण पनि पानीमा कोलिफर्म देखिएको हुन सक्ने सर्वसाधारणको भनाइ थियो ।
बजार क्षेत्रमा ढल निकास छैन, खानेपानीका पाइप लाइन फोहोर नाली र सडक छेउमा छन् । कतिपय ठाउँमा पाइप फुटेका प्वाल परेका छन् । पाइपमा पानी नआउने समयमा नालीको फोहोर पाइपभित्र पस्ने भएकाले पनि यस्तो समस्या देखिएको हुन सक्छ । सरकारले २०३० सम्म प्रत्येक जनतालाई स्वच्छ पानी पु¥याउने लक्ष्य राखेको छ ।