पर्यटन/संस्कृति

विकट गाउँको होमस्टेमा ३९ परिकार

फलेवास, पर्वत । यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ । पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो । जिल्लाको साबिक लुंखुदेउराली, दुक्तान र पाखानीको सिम्ले गरी तीन स्थानमा होमस्टे सेवा शुरु गरिएको छ । ती होमस्टेमा स्थानीयवासीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउनका लागि ३९ किसिममा परिकार खुवाउने गरेका हुन् । सबै परिकार स्थानीय उत्पादन हुन् ।

सामान्यतया गाउँघरमा पाइने भात, दाल, तरकारी, मासु, साग, गुन्द्रुक, अचार, रोटी, दूध, घ्यू, लोकल मदिरासहितका ३९ प्रकारका परिकार तयार गर्ने गरेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम ठकुरीले जानकारी दिए ।  स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको पहिलो वर्षमै गाउँपालिकाका गुरुङ, ठकुरी, मगर, अन्य जनजातिको बाहुल्यता रहेको झण्डै ५० घरमा होमस्टे सेवा शुरु गरिएको उनले बताए ।

होमस्टे सञ्चालन गर्न इच्छुक परिवारलाई पूर्वाधार निर्माणसँगै आवश्यक सामग्रीका लागि चालु आर्थिक वर्षमा रु १० हजार सहयोग गरिएको र अन्यत्र लामो समयदेखि सञ्चालनमा आएका होमस्टेमा भन्दा यहाँ धेरै किसिमका खानेकुरा दिन सकिने प्रवक्ता ठकुरीले जानकारी दिए ।
महाशिला गाउँपालिकाको पर्यटकीय क्षेत्र विकासअन्तर्गत नेपाल पर्यटन बोर्डको सहयोगमा यस गाउँपालिका–४ पाखापानी, महाशिला–५ दुक्तानमा र महाशिला–५ कै लाम्तुनमा पनि तीनदिने होमस्टे सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए।

उक्त गाउँपालिकास्थित धार्मिक दृष्टिकोणले निकै महत्व रहेको चिसापानी देवीको मन्दिर, सातमूले देवीको मन्दिर, गाउँमा रहेको महाशिला र गाउँकै शिव मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएका होमस्टे स्थानीय संस्कृतिको जगेर्नाका लागि पनि प्रभावकारी बनेको छ ।
गाउँपालिकाले अहिले ३७० जनालाई गाउँपालिकामा रोजगारी दिने गरी तालीम दिन शुरु गरिएको र सो तालीममा विभिन्न १८ विधाअन्तर्गत होमस्टेलाई पनि समावेश गरिएको छ । अहिले गाउँपालिकाभरिमा सञ्चालनमा आएका होमस्टेमा एकै पटक पाँच सयभन्दा बढीलाई राख्न सक्ने क्षमता रहेको पनि अध्यक्ष पौडेलले जानकारी दिए ।