साहित्य

रिसाल र पुडासैनीलाई ‘मधुपर्क’ सम्मान

काठमाडौँ । गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ साहित्यिक मासिकको ५१ औँ वर्ष प्रवेशका अवसरमा आज प्रा शिवगोपाल रिसाल र कञ्चन पुडासैनीलाई मधुपर्क सम्मान प्रदान गरिएको छ ।  रिसाललाई पद्य र पुडासैनीलाई गद्यतर्फ सो सम्मान दिइएको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उनीहरुलाई सो सम्मान प्रदान गरे । सम्मानसहित जनही रु २५ हजार राशि छ ।

विसं २०२५ देखि निरन्तर प्रकाशन हुँदै आएको ‘मधुपर्क’मा प्रारम्भिक अंकदेखि नै सिर्जना प्रकाशन भएका र विधागत रूपमा नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याई निरन्तर साहित्य साधनामा लागिरहेका स्रष्टामध्ये दुई जना छनोट गरी सो सम्मान वार्षिक रुपमा प्रदान गरिँदै आएको छ । यस पटक सम्मानित दुवै स्रष्टाका रचना ‘मधुपर्क’को विसंं २०२५ को अंक २ मा पहिलो पटक प्रकाशन भएका थिए ।

संस्कृतिविद् जोशीले राज्यले साहित्य र संस्कृति क्षेत्रलाई उचित ध्यान दिन नसकेपछि निजी क्षेत्रबाट समेत साहित्यिक र संस्थागत विकासका काम भइरहेको बताउँदै तीन प्रज्ञा– प्रतिष्ठानको अवस्था सन्तोषजनक नभएको टिप्पणी गरे । संस्थानका अध्यक्ष गोविन्द पोखरेल ‘गोरखापत्र’ र यसका रचनाका लेखकको पारिश्रमिक बढाइने बताए । संस्थाका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले आगामी वर्षदेखि सो सम्मानको राशिमा रु १० हजार वृद्धि गरी जनही रु ३५ हजार बनाइने बताए ।

‘मधुपर्क’का सम्पादक श्रीओम श्रेष्ठले ‘मधुपर्क’का सामग्रीलाई डिजिटल भर्सनमा पनि समावेश गर्न थालिएपछि देशविदेशमा रहेका स्रष्टामा उत्साह पैदा भएको बताए । विसं २०२५ जेठ ३० देखि प्रकाशन शुरु भएको ‘मधुपर्क’ हाल ५९० औँ अंकको तयारीमा छ ।