कुराकानी

समग्र बैंकिङ क्षेत्र भद्रगोल छ भन्नु गलत हो: प्रमुख कार्यकारी अधिकृत, तुलसीराम गौतम, सेन्चुरी बैंक (कुराकानी)

काठमाडौं । बैंक पैसाको कारोबार गर्ने थलो हो । बैंक देशको अर्थतन्त्रको मेरुदण्ड हो । पछिल्लो समय बैंक तथा तिनिहरुका शाखा खुल्ने क्रम धमाधम बढेको छ । आधुनिक प्रविधीयुक्त सेवासुविधाहरु पनि बैंकहरुले भित्र्याईरहेका छन् । यसै क्रममा ७ बर्षदेखि बैंकिङ क्षेत्रमा आफ्नो स्थान जमाइरहेको बैंक हो सेन्चुरी कमर्सियल बैंक । नेपाल बैंक लगायत विभिन्न बैंक हुदैँ करिब बर्षदिन अगाडी माछापुच्छ्रे बैंक छाडेका सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत बैशाख १९ गतेदेखि लागु हुने गरेर गौतम नियुक्त भएका थिए । अर्थशास्त्रमा स्नातक गौतमले मार्केटिङ र फाइनान्समा एमबीए गरेका छन्। गौतमसँग ३० वर्षको बैंकिङ अनुभव छ ।

प्रस्तुत छ उक्त बैंक र बैंकिङ क्षेत्रका अन्य समसामयिक बिषयमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत( सिइओ) तुलसीराम गौतमसँग सूर्यखबरले गरेको  छोटो कुराकानीः–

तपाइलाई बैंकिङ क्षेत्र भनेको के हो जस्तो लाग्छ ?

–बैंकिङ क्षेत्र एउटा सेवामुखी उद्देश्यले गरिने व्यावसाय हो । यो क्षेत्रमा प्रायः रुपियाँ पैसाको कारोबार हुन्छ । यो क्षेत्रमा जनता अर्थात बैंकका ग्राहक र बैंकबीच भएको कारोबारबाट प्राप्त मुनाफा केही प्रतिशत बैंक आफैँ र बाकी केही प्रतिशत ग्राहकलाई प्रदान गरिन्छ । यो क्षेत्रमा बैंक र ग्राहक सन्तुष्ट तथा लाभान्वित हुनुपर्दछ ।

बेलाबखत राष्ट्र बैंक र अन्य बैंकबीच विवाद आउनुलाई कसरी लिनुहुन्छ ?

–काम गर्दै जादाँ यावत समस्या, चुनौती र विवाद स्वभाविक रुपमा आउछन् । नीति, नियम र आपसी समझदारीमा विवाद तथा समस्या समाधान गर्नुपर्दछ त्यो सबैलाइ श्रेयष्कर हुनुपर्छ । राष्ट्र बैंकले दिएको निर्देशन सबै बैंकहरुले मान्नुृ उनीहरुको कर्तब्य हुन जान्छ र राष्ट्र बैंकले पनि अन्य बैंकहरुको अधिकार क्षेत्रभित्रका निर्देशन दिनुपर्छ । यो समस्या बैंकिङ क्षेत्रमा मात्रै नभएर सबै क्षेत्रमा उही रुपमा देखिएको हुन्छ ।

केही दिन अगाडी मात्रै एनआइसी एसिया बैंक, राष्ट्रबैंक र बैंकर्स एसोसिएसन बीच भएको ब्याजदर विवादबारे के भन्नुहुन्छ ?

–त्यो विवादबारे बोल्नु त्यति उचित लाग्दैँन किनभने म त्यतिखेर आइसकेको थिइन । उनीहरुले आपसी समझदारीमा त्योे विवाद सल्टाउनुपर्छ जस्तो लाग्छ ।

बैंकिङ क्षेत्रमा देखिएको भद्रगोल अवस्थाबारे तपाइको धारणा चाहिँ के छ ?

–साच्चिकै नै बैकिङ क्षेत्रमा धेरै बेथितीहरुले जरा गाडेको छ । यसो भन्दै गर्दा मैले सबै बैंकहरुलाई इंगित गरेको होइन । केही नाम चलेका १० देखि १५ वटा बैंकहरुमा यस्तो बेढङ्गे बेथितीहरु प्रचुर मात्रामा रहेका छन् । केही बैंकहरुबाट ठूल–ठूलो आश्वासन देखाएर ग्राहकलाइ झुक्याउने काम भएको छ ।

राष्ट्र बैंकले मातहतका सबै बैंकहरुको लेखापरीक्षण गर्ने हुनाले लेखापरीक्षणमा त्यस्तो छ जस्तो लाग्दैँन । यो ग्राहक झुक्याउने बैंकहरुको सन्दर्भमा मेरो धारणा के छ भन्दाखेरी एक बर्षसम्म झुक्याउन सक्लान त्यसपछि ग्राहकको बैंक प्रतिको विश्वास घट्छ र बैंकहरु घाटामा जान्छन् अनि त्यसपछि उनीहरु झुक्याउन छोड्दछन् । मैले भन्न खोजेको के हो भने बैंकले ग्राहकलाइ बर्षौ बर्ष झुक्याउन सक्दैँनन् ।

तपाइको भनाइको मतलब एकाध बाहेक समग्र बैंकिङ क्षेत्रको अवस्था राम्रो छ भन्नु हो ?

–एकाध बैंकहरु नेपालमा मात्रै नभई, बैंकिङ क्षेत्रमात्रै नभई समग्र संसारका सबै क्षेत्रमा अपवाद त हुन्छन् नै ।
त्यसकारण एकाध बैंकहरुको चित्रणले समग्र बैंकिङ क्षेत्रको चित्रण गर्नु उचित हुदैँन् ।

बैंक राजनीतिसँग जोडिएको बिषय होकी होइन तपाईलाइ के लाग्छ ?

–म यसमा के भन्छु भने राजनीति र बैंक भनेको नितान्त भिन्न क्षेत्र हो । केही बैंकर्स साथीहरुमा राजनीतिक पार्टी प्रति आस्था त होला जून स्वभाविक पनि हो, त्यसले बैंकिङ कामकारवाहीमा फरक पार्दैन् । तर सरकारको अर्थमन्त्रालयसँग अरु बैंकको भन्दापनि राष्ट्र बैंकको प्रत्यक्ष वा परोक्ष सम्बन्ध रहेको हुन्छ त्यसलाइ राजनीतिसँग जोड्न मिल्दैँन् । त्यो एउटा नीति कार्यक्रमबारे हुने आर्थिक कारोबारको पाटो हो ।

वाणिज्यलगायत बैंकहरुको न्यूनतम चुक्ता पुँजी बढाउने राष्ट्र बैंकको तयारीबारे के भन्नुहुन्छ ?

–तत्कालै त चुक्ता पुँजी बढाउदैँन होला । मलाइ लागेको कुरा के हो भने राष्ट्र बैंकले सबै बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब बनाएको छ त्यसकारण अहिल्यै बढाउदैँन जस्तो लाग्छ । यदि राष्ट्र बैंकले निर्देशन जारी गर्यो भने त्यो सबै बैंकहरुले मान्नैपर्ने हुन्छ ।

तपाइले बैंकिङ क्षेत्रमा दशक लामो अनुभव लिइसकेका हिसाबले भन्नुपर्दा यो क्षेत्रमा के–कस्ता जोखिमहरु रहेका छन् ?

–बैंकिङ क्षेत्र भनेको संसारकै सबैभन्दा बढी जोखिमपूर्ण क्षेत्र हो । बैंकमा तल्लो तहदेखि माथिल्लो तहसम्म कार्यरत कर्मचारीहरुले जोखिम मोल्नै पर्ने हुन्छ । धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भन्छन् नि हो धनपैसाकै लागि नै बैंकिङ क्षेत्रले लुटपाट, हत्या जस्ता भयावह जोखिमहरु भोग्नुपर्ने हुन्छ । तर पछिल्लो समय आधुनिक डिजिटिल प्रविधीका कारण यस्तो जोखिमहरु कम हुदैँ गएको अवस्था छ ।

कर्मचारीमा नैतिकता देखिएन भने चोर डाकाहरुसँग मिलेर बैंक सखाप पार्ने ठूलो जोखिम हुन्छ त्यसकारण कर्मचारीमा पदीय नैतिकता हुनैपर्छ ।

सबभन्दा ठूलो जोखिम भनेको बैंक घाटामा जाने जोखिम हो । बैंकले ग्राहकलाइ विश्वास दिलाई राम्रो सेवासुविधा प्रवाह गर्न सकेन अथवा ग्राहकलाइ झुक्यायो भने त्यो बैंकको घाटामा जाने लक्षण हो ।

बैंकहरुको हकहितका खातिर राष्ट्र बैंकले के गरिदिओस् भन्ने लाग्छ तपाइलाइ चाहि ?

–राष्ट्र बैंकले बैंकहरुलाइ नयाँ नयाँ प्रविधीको अवगत गराएर बैंकिङ क्षेत्रको कार्य प्रवाह चुस्त, दुरुस्त, छिटो र छरितो बनाउनुपर्छ र अर्को कुरा चाहिँ बैंकहरुको निगरानी र प्रोत्साहनका अभियान तथा कार्यक्रमहरु ल्याउनुपर्छ जस्तो लाग्छ ।

तपाइ कार्यरत बैंकको समग्र वर्तमान अवस्था के छ ?

–यो बैंकको समग्र अवस्था एकदम ठिकठाक छ । ५६ अर्व बैंक जम्मा भएको छ भने बैंकले ५३ अर्व बैंक क्रण प्रवाह गरेको छ । बैंकले हाल देशभरी ९५ शाखा, १० शाखारहित बैंकिङ सेवा र ४० एटीएमबाट सेवा प्रवाह गरिरहेको छ ।