प्रवास

प्रवासीद्वारा पदमार्ग र प्रतिक्षालय निर्माण

बाबियाचौर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक प्रवासीले दिवंगत आफन्तको स्मृतिमा पदमार्ग र प्रतीक्षालय निर्माण गरेका छन् ।

दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका दलबहादुर पुर्जाले करीब रु तीन लाख लगानीमा दोवा जिपपार्कमा प्रतीक्षालय र त्यहाँदेखि १०० मिटर पक्की पदमार्ग निर्माण गरेका हुन् ।

बेलायती गोर्खा सैनिकका सेवानिवृत्त दलबहादुर र उनकी श्रीमती महामती पुर्जाले रु दुई लाख ६८ हजार ७०० लगानीमा पदमार्ग र प्रतीक्षालय बनाइ दिनुभएको वडाध्यक्ष दिलीपकुमार गर्बुजाले जानकारी दिए ।

सिमेन्ट र ढुंगाको प्रयोग गरेर बनाइएको पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको छ । भिरको बाटोमा पदमार्ग बनेपछि जिपपार्कदेखि दोवा गाउँमा आवतजावत गर्न स्थानीय बासिन्दालाई सुविधा पुगेको छ ।

पुर्जाले कैलाश मावि, दोवामा समेत रु दुई लाखको अक्षयकोष स्थापना गरेर उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाएका छन् ।