साहित्य

‘बेथितिको जालो’ सार्वजनिक

काठमाडौँ । राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालोः सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक आज विमोचन गरिएको छ ।

पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक यहाँ आज आयोजित कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले विमोचन गने।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले नेपालसँग भएको जस्तो भ्रष्टाचार नियन्त्रण गर्ने नियमकानुन अरु मुलुकसँग नभएको जिकिर गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने सक्ने पात्र र प्रवृत्तिलाई तयार पार्नुपर्ने बताए । उनले राजनीतिक दलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामा भ्रष्टाचारबाट जोगिने प्रयासमा आफूले चाहेको व्यक्ति पठाउने गरेको आरोप पनि लगाए ।

पत्रकार बस्तीले राजनीतिक दललाई जनताका मतमार्फत भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राखे । ट्रान्सपरेन्सीका अध्यक्ष अर्यालले राजनीतिक दलबाट सबभन्दा बढी भ्रष्टाचार हुने गरेको छ भन्दै नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका कानुन कार्यान्वयनको अभाव रहेको बताए ।

पुस्तकका लेखकले आफूहरूले समाचार संकलनका क्रममा दोस्रो जनआन्दोलनपछि मुलुकका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र संवैधानिक अंगमा हुने गरेको बेथितिलाई पुस्तकमा समेटेको बताए । पुस्तकमा राज्यका तीन अङ्ग, भ्रष्टाचार विरोधी निकाय, संवैधानिक निकाय, उद्योग/व्यवसाय र नागरिक समाजमा हुने गरेको विकृतिलाई उतारिएको छ ।

कार्यक्रममा ‘सार्वजनिक सेवा प्रवाहसम्बन्धी सर्वेक्षण–२०७४’को प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता डा प्रकाशचन्द्र भट्टराईले सरकारी सार्वजनिक सेवामा जनताले अझै सुविधा नपाएको बताए ।

सिरहा, रुपन्देही, रौतहट, दोलखा, दार्चुला, बागलुङ, बाँके र दाङ जिल्लाका मालपोत कार्यालय, नापी कार्यालय, स्थानीय तह, शिक्षा कार्यालय, अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायत १३ सरकारी सार्वजनिक सेवा प्रवाह संस्थामा अध्ययन गरिएको थियो । सोअनुसार सरकारी अस्पतालमा सबैभन्दा बढी सेवाग्राहीले समस्या भोग्नुपरेको छ भने मालपोत कार्यालयमा सेवा प्रवाह असजिलो भएको र कर्मचारीबाट ढिलासुस्ती हुने गरेको पाइएको छ ।