खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीले बाजी मार्यो

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै समूह विजेता बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा आर्मीले एपिएफलाई ७० रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । वर्षाका कारण ५० ओभरको खेललाई ४० ओभरमा छोट्याइएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै २२८ रन को योगफल बनायो । आर्मीका लागि अनिल मण्डल र कप्तान विनोद भण्डारीले अर्धशतक प्रहार गरे । मण्डलले ९९ बल खेल्दै ७ चौकाको मद्दतमा ७२ रन बनाए भने भण्डारीले २३ बल खेल्दै ५ छक्काको मद्दतमा ५० रनको योगदान दिए । त्यसैगरी आर्मीका सागर पुनले ४६ तथा नरेश बुढाऐरले ३७ रन जोडे । बलिङतर्फ एपिएफका भुवन कार्कीले ३ विकेट लिए ।

२२९ रनको विजय लक्ष्य पछ्याएको एपिएफले ३२ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५८ रनमा समेटियो । एपिएफ समूह उपविजेता बन्यो । एपिएफका लागि अमर सिंह राउटेलाले अविजित २९ रनको योगदान दि एभने रोहितकुमार पौडेलले २८, भुवन कार्कीले २६, अनिल शाहले २५ तथा सुवास खकुरेलले २२ रन जोडे ।

एपिएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने सुशन भारी, सागर पुन र शहाव आलमले २÷२ विकेट लिए । यस हारसँगै एपिएफ समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता तथा एपिएफले समूह ‘बी’ को विजेतासँग खेल्नेछ ।