पु.समाचार

कर्णाली सरकारको बैठक प्रत्येक शनिबार नियमित बस्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आजको बैठकबाट हरेक शनिबार नियमित बैठक बस्ने महत्वपूर्ण निर्णय गरेको छ ।

सार्वजनिक बिदाको दिनसमेत सदुपयोग गर्ने ध्येयले प्रदेश सरकारले हरेक शनिबार नियमित बैठक बस्ने निर्णय गरेको हो ।

सरकारका मन्त्रीनै जनताका काममा अनवरत खट्नुपर्छ भन्ने उद्देश्यका साथ हरेक साताको शनिबार अनिवार्य बैठक बस्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।

त्यसैगरी आजै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गाउँसभा, नगरसभा कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र जिल्लासभा कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताए।

आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका, २०७५ लाई बैठकले स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै, प्रदेश सार्वजनिक व्यवस्था तथा सञ्चालनसम्बन्धी विधेयक २०७५, प्रदेश विद्युत् विकास, उत्पादन र व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी विधेयक, २०७५ को मस्यौैदा तर्जुमाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको पनि प्रवक्ता केसीले बताए ।