शिक्षा

अन्तर्राष्ट्रिय चिल्ड्रेन्स थिएटर फेस्टिभल शुरु

भक्तपुर ।चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शनिबारदेखि शुरु भएको छ ।

काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा शुरु भएको सो फेस्टिभलमा नेपालका तर्फबाट आयोजक अक्षरा स्कूलसहित बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, पाकिस्तान, रसिया, स्लोभाकिया, श्रीलंका र स्विट्जरल्याण्डका विद्यालयहरुको सहभागिता रहेको छ ।

फेस्टिभलमा प्रत्येक दिन बिहान ११ र दिउँसो १ बजे विद्यार्थीलाई तथा साँझ ५ बजे वयष्कलाई लक्षित गरेर नाटक प्रदर्शन गरिने बताइएको छ । स्कूलका प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको नेतृत्व विकासका साथै क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नाटक फेस्टिभल गरिएको बताए ।
अक्षरा स्कूलले ‘संस्कारयुक्त शिक्षा’ भन्ने मूल नारा दिएर विद्यार्थीलाई पठनपाठन गराउँदै आइरहेको छ । घोकाइ र पाठ्यपुस्तकमा मात्र आधारित नभएर व्यावहारिक ज्ञानमार्फत विद्यार्थीको सिकाइमा अक्षराले जोड दिँदै आइरहेको बताउँदै उनले बताए ।
नाटक हेर्नका लागि करीब सय वटा सरकारी सामुदायिक विद्यालयलाई निम्तो दिइएको छ ।