मनोरञ्जन

संगीत प्रशिक्षक आचार्य भन्छन्ः नबुझेर गीत गाउनुको अर्थ छैन

काठमाडौं । सरकारी तवरबाट गीत संगीतको क्षेत्रमा कुनै कदम नचालिएकोमा संगीत प्रशिक्षक नवराज आचार्यले सरकारसँग गुनासो गरेका छन् । प्रशिक्षक आचार्यले संगीत क्षेत्रको हकहितमा सरकारले रत्तिभर पनि ध्यान नदिनुले मौलिक गीत संगीतका भाका आझेलमा पर्दै गएका र त्यो दुःखद भएको बताएका हुन् ।

सूर्यखबरडटकमलाई छोटो प्रतिक्रिया दिदैँ उनले गीतसंगीत प्रतिको सरकारको पूर्ण बेवास्ताको कारण समग्र मौलिक कला क्षेत्र ईतिहासमा सिमित हुने अवस्थामा पुग्नु निकै दुःखदायी र गम्भीर कुरा भएको बताएका छन् । मौलिक गीत संगीत लोप हुनु समग्र नेपाल र नेपालीको पहिचानमा दाग लाग्नु बाहेक अरु थोक हुनै नसक्नु आचार्यको दाबी छ ।

यो क्षेत्रमा आउन चाहानेहरुलाई के भन्नुहुन्छ भन्ने सूर्यखबरको प्रश्नको उत्तर दिदैँ उनले भने, संगीत सिकेर आउदाँ राम्रो, बुझेर आउनुपर्छ यो क्षेत्रमा, बुझेर नआउदाँ गीतसंगीतको क्षेत्रमा दिगो रुपमा टिकाउ र बिकाउ हुन अत्यन्त गाह्रो छ त्यसकारण यो क्षेत्रमा राम्ररी बुझेर हाम फाल्नुपर्छ, नबुझेरै हाम फालियो भने हात खुट्टा भाचिने डर हुन्छ भनेको छोटो समयावधिमै यो क्षेत्रबाट हात धुनु पर्ने अवस्था सिर्जना हुनसक्छ ।

गाउनु र बुझ्नु फरक पाटो बताउने प्रशिक्षक आचार्य आफूले संगीत बुझेको तर आफूसँगैका केही साथीहरु नबुझेरै गीत गाइरहेको बताउछन् ।

तपाईले गीत गाएरै चर्चित भएकालाई नबुझेरै चर्चामा आए भन्न खोज्नुभएको ? भन्ने हाम्रो जिज्ञासामा उनले भने, मैले सबैको कुरा गरेको होईन्, पछिल्लो समय नयाँ आउने धेरै भन्दा धेरै साथीहरुमा गीतसंगीत प्रतिको बुझाईमा कमि देख्छु, चर्चामा त पछिल्लो समय युट्युबमा साना भाईबहिनीहरु पनि चर्चामा छन्, के उनीहरु बुझेरै चर्चामा आएका हुन् त ? मेरो भनाईको सार बुझेर चर्चामा आउनुले यो क्षेत्रमा टिकाउ भईन्छ तर नबुझेरैको चर्चा क्षणिक हुन्छ ।

विभिन्न चुनौतीका बाबजुद पनि यो क्षेत्रमा व्यावसायिक रुपमा लाग्ने अठोट गरी संगीत एकेडेमी दर्ता गराईसकेका आचार्यले आफ्नै शब्द, लय र स्वरमा गीत निकाल्ने तयारी समेत गरेका छन् ।

संगीत प्रशिक्षक आचार्य ०५८ सालदेखि अनवरत रुपमा गीतसंगीतको क्षेत्रमा योगदान पुर्याउदैँ आएका छन् ।