समाचार

हनुमन्तेबाट १० टन फोहर तह लगाईयो

भक्तपुर । २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियान सञ्चालन भएको भक्तपुरमा १३ औं हप्ताको हनुमन्ते सरसफाइमा आज १० टन फोहर संकलन गरिएको छ ।

भक्तपुर र चाँगुनारायण नगरपालिकाको संगमस्थल ब्रम्हयणीस्थित खोलामा सरसफाइ गरिएको हो । हनुमन्तेको मुहान चाँगुनारायण नगरपालिकाको नगरकोट भए पनि ब्रम्हयणीसम्म सफा बग्दै आएको हनुमन्ते ब्रम्हयणीदेखि भने फोहर थु्प्रिन थालेको हो ।

हनुमन्ते सफाइ अभियानमा प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायत २८ वटा विभिन्न संघ संस्था र भक्तपुरका चारैवटा नगरपालिकाका बासिन्दा गरी ५५० जनाको सहभागितामा आज १० टन फोहर संकलन भई व्यवस्थापन गरिएको हनुमन्ते सफाइ अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए ।

कार्यक्रममा सांसद बस्नेतले हनुमन्तेमा फोहर फाल्नेलाई कडा कारबाही गर्नुपर्ने जिल्लाका सबै नगरपालिकाले नीति लिनुपर्ने र हनुमन्ते खोलामा ब्रम्हयणीदेखि मात्रै फोहर थप्रिन थालेकाले सबै नगरपालिका मिलेर सफाइ अभियानलाई अगाडि लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनगरपालिकाका प्रमुख मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी लगायतले हनुमन्ते सफाइमा स्थानीयवासी आफैँ पनि लाग्नुपर्ने औल्याए ।

केही वर्षअघिसम्म पनि ब्रम्हयणी सफा बग्ने गरेकोमा भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो औद्योगिक एवं बस्तीका कारण कुहिने र नकुहिने फोहर सिधँै लगेर हनुमन्तेमा फ्याँक्ने र भक्तपुर नगरपालिकाले सिधँै ढल खोलामा खसालेकाले पनि हनुमन्ते प्रदूषित भएको हो ।

भक्तपुर नगरपालिकाले हनुमन्तेमा फोहर फाल्न रोक लगाउने र ढल सिधँै हुनमन्तेमा खसाल्न रोक्ने हो भने छिटो भन्दा छिटो हनुमन्ते सफाइले पूर्णता पाउने अभियन्ता बताउछन् । गत फागुन १९ गतेदेखि शुरु भएको हनुमन्ते सफाइ अभियानमा आजसम्म १९६ टन फोहोर संकलन भएको बताइएको छ ।