देश

गाईघाट –दिक्तेल सडकमा यातायात सेवा बन्द

गाईघाट, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ ।

छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी नदीमा वर्षायामसँगै पानीको बहाव बढ्न थालेपछि खोल्न लागिएको गाईघाट– दिक्तेल सडक कार्यालयले बताएको छ ।

आजदेखि बेलिब्रिज खोल्न लागिएकाले अब छ महिना वर्षा अवधिभरीका लागि यातायात सेवा बन्द हुने बेलिब्रिज खोल्ने जिम्मेवारी लिएका निर्माण व्यवसायी प्रेम कार्कीले बताउनुभयो । गाईघाट दिक्तेल सडक कार्यालय बोक्सेका प्राविधिक राजेन्द्र जोशीका अनुसार सुनकोशी नदीमा नदीको बहावमा दिनानुदिन वृद्धि हुँदै गएको र बेलिब्रिज बगाउने खतरा बढेको छ ।