शिक्षा

विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र झोला

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ ।

समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले सोसाइटीले आठराई गाउँपालिकाका सातवटै वडाका ६० जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो ।

वडामा रहेका सामुदायिक विद्यालयबाट विपन्न विद्यार्थी छनोट गरी स्थानीय जनप्रतिनिधिसमेतको सहभागितामा प्रति विद्यार्थी रु एक हजारबराबरका विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरिएको देउराली सोसाइटीका सामाजिक परिचालक सुवास कन्दङ्वाले बताए ।

त्यस्ता सामग्री पाउनेमा ह्वाकुका सातजना, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, खाम्लालुङ र सक्रान्तिका नौ–नौजना विद्यार्थी रहेका छन् । एक्सनएड नेपालको आर्थिक सहयोगमा देउराली सोसाइटीले आठराई गाउँपालिकाका सबै वडामा स्थानीय अधिकार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोही कार्यक्रमअन्तर्गत विपन्न परिवारका बालबालिकाको शैक्षिक उन्नयनका लागि सहयोग गरिएको देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर आम्बुङले बताए ।