आर्थिक

पर्यटन क्षेत्रका काम प्रगतिउन्मुख : मन्त्री अधिकारी

काठमाडौँ । समग्र पर्यटन क्षेत्रको कामलाई गति दिने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अघि सारेको १०० दिनको अवधिको काम प्रगतिउन्मुख देखिएको छ ।

सयदिने कार्ययोजनाको करीब दुई महिनाको अवधिमा मुख्य काममा ९५ प्रतिशतको हाराहारीमा प्रगति भएको पर्यटनमन्त्री अधिकारीले शुक्रबार मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा बताए । गत चैत १६ गते पत्रकार सम्मेलन गरी १०० दिनमा गरिने ११० वटा कामको प्रतिबद्धतासहित सार्वजनिक गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १०० दिने कार्ययोजनाअन्तर्गत रहेको पर्यटन मन्त्रालयको कार्यप्रगति समग्रमा सन्तोषजनक पाइएको हो ।

कार्यप्रगति सन्तोषजनक रहेकामा मन्त्रालयका सचिव, मातहत निकायका प्रमुखलाई धन्यवाद दिँदै मन्त्री अधिकारीले बाँकी कामलाई पनि निर्धारित समयमै सम्पन्न गर्न आग्रह गरे ।

“सरकारको १०० दिनको कार्ययोजनाअन्तर्गतकै एउटा पाटो पर्यटन मन्त्रालय मातहतको कामको प्रगति विवरण हो । ९५ प्रतिशत काम सम्पन्न भएको छ । एक÷दुई दिनमा ९७ प्रतिशत नै काम हुनेछ”, उनले भने ।

सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको भन्दै मन्त्री अधिकारीले देश र जनताका लागि सामाजिक न्यायमा आधारित विकासको अनुभूत हुने गरी जिम्मेवार भएर काम गर्न जरुरी भएको उल्लेख गरे ।

उनले विमानस्थल निर्माण, हवाई उड्डयन क्षेत्रको व्यवस्थापन तथा सेवामा गुणस्तर र सहजीकरणका लागि सरकारले विशेष पहल गर्ने उल्लेख गरे ।

क्षेत्रीय तथा अन्तरप्रादेशिक उडान सेवाका लागि पहल गरिने र नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाइने तथा निजी विमान सेवा प्रदायक कम्पनीलाई प्रभावकारी सेवाका लागि समन्वय गरिने मन्त्री अधिकारीको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सदस्य रामप्रसाद फुयाँलले सरकारले लिएको समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि पर्यटन उपयुक्त माध्यम भएकाले पर्यटनलाई उद्योग र रोजगारसँग जोडेर कसरी लैजान सकिन्छ भन्नेतर्फ योजना कार्यक्रम ल्याइने उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजना, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाको पुनर्निमाण, हवाई सुरक्षा, पर्यटन पूर्वाधार विकास तथा प्रवद्र्धन एवं मन्त्रालयको नीतिगत तथा कानूनी सुधारका सम्बन्धमा १०० दिनभित्र सम्पादन गरिनेको प्रमुख कार्ययोजनामा समेटिएको थियो ।

कार्यप्रगतिअनुरुप मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो एयर ट्राफिक चाप न्यूनीकरण गर्न विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउन शुरु गरिएकोछ । यसबाट ‘एयर स्पेस’ बढेको छ ।

अन्तर्राष्ट्रिय उडानमा असर पुगेकाले आन्तरिकतर्फका ३० प्रतिशत उडानलाई स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण प्रक्रिया अघि बढेको छ ।

उक्त विमानस्थल निर्माणका लागि उपयुक्त नागिडाँडा हुने भनी सिफारिशसहितको प्रतिवेदन रायसहितको प्रतिवेदन हालै प्राविधिक समितिले मन्त्रालयलाई बुझाएको र सो स्थान छनोट भई प्रारम्भिक कार्य शुरु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै अन्तर्राष्ट्रिय विमानस्थल सुधारतर्फ यात्रुलाई थप सहज बनाउन अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा चारवटै ब्यागेज वेल्ट नियमित सञ्चालन गरिएको र एसी जडान भएको तथा आन्तरिक टर्मिनलतर्फ यात्रु प्रतिक्षालयमा थप यात्रु बस्ने सुविधा तथा एसी जडान गरिएको कार्यप्रगतिमा उल्लेख छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिन विमानस्थल निर्माण मोडालिटी तयारीको निम्ति गहन छलफल भइरहेको र विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गराइएको छ । कोरियन कम्पनी एलएमडब्लुले बुझाएको विस्तृत सम्भाव्य अध्ययन (डिएफएस) प्रतिवेदन सरकारले ग्रहण गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग, टर्मिनल भवनलगायत सिभिल निर्माण कार्यको भौतिक प्रगति ३८ प्रतिशत सम्पन्न भएको र विमानस्थल निर्माण एवं मुआब्जा वितरणको कार्य प्रभावकारी बनाइएको छ ।

पशुपति क्षेत्र, लुम्बिनी क्षेत्रमा महत्वपूर्ण काम भएको तथा क्षतिग्रस्त सम्पदाको पुनर्निमाणको काम प्रगतिमूलक भएको जनाइएको छ ।

नीतिगत तथा कानूनी सुधारतर्फ पर्यटन ऐन, २०३५ को परिमार्जनका लागि मस्यौदा तयार भएको, संस्कृति प्रवर्धनतर्फ विभिन्न कार्यक्रम आयोजना गरिएको छ । अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण, पर्यटकीय तथ्यांक व्यवस्थापन र पर्यटन पूर्वाधार विकासका काम अघि बढाइएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन भ्रमण वर्षका लोगो छनोटका लागि विज्ञसँग परामर्श लिएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय सम्पदा झल्किने पाँच वटा ठूलो इलेक्ट्रोनिक डिस्प्ले बोर्ड राख्ने कार्य जारी रहेको जनाइएको छ ।

उड्डयन सुरक्षा तथा हवाई उद्योग व्यवस्थापन, नेपाल वायु सेवा निगमको सुदृढीकरण सेवा गुणस्तरलगायतका कामलाई अघि बढाइएको कार्य प्रगतिमा समावेश गरिएको छ ।