स्वास्थ्य

‘बालबालिकाको अवस्था कहालिलाग्दो’

जनकपुरधाम । प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ ।

तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३.० प्रतिशत छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका उमेरअनुरूप उचाइ नपुगेका ३७ र छ महिनादेखि ५९ महिनाको बालबालिककामा कुनै न कुनै किसिमको रक्तअल्पता भएको ५९ प्रतिशत देखिएको छ । प्रदेशमा बालबालिकामा अशिक्षा, बालश्रम, बालविवाह, ओसारपसार, परिवारविहीन, अनाथ, यौन दुव्र्यवहार तथा व्यावसायिक यौनशोषण, शारीरिक दण्डसजाय, हेपाइ, घरेलु हिंसा, मनोसामाजिक लागुपदार्थ दुव्र्यसन, उपेक्षा, कुलत, गर्भपतन, कुपोषण, अपहरण, खाद्य बानी र बेवास्ता मुख्य विषय रहेको पाइएको छ ।

एक तथ्यांकानुसार प्रदेशका २० लाखभन्दा अधिक बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । प्रदेश नं २ सामाजिक मन्त्रालयद्वारा आज यहाँ आयोजित बालबालिकाको अधिकारसम्बन्धी अन्तरक्रियामासो जानकारी दिइएको हो ।

सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाप्रति अपेक्षाकृत संवेदनशीलतामा कमीका कारण ति नको अवस्था कहालिलाग्दो छ भन्दै बालबालिकाको अधिकारको वकालत गर्नेहरू नै बालबालिकाको अधिकारप्रति सजग नरहेको विचार राखे । उनले कानून नियन्त्रणमा लिन खोज्नेहरु नै बालश्रमिक राख्न उद्यत देखिएको अवस्थामा यसप्रति सबैमा सकारात्मक सोच र परिवर्तनको आवश्यकता छ भने ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, नैतिक तथा बौद्धिक विकासमा नकारात्मक असर पर्ने खालका कुनै पनि कार्यबाट जोगाउन सबैको अग्रसरता आवश्यक भएको बताए । मन्त्रालयका सचिव डा किरण रुपाखेतीले बाल संरक्षणका विषयको पहिचान र रोकथाम, जोखिम न्यूनीकरण, उचित सम्बोधन र सम्मानप्रति गम्भीर हुनुपर्ने धारणा राखे । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले सचेतना पुग्नुपर्ने ठाउँमा अझै नपुगेको, कानूनी व्यवस्थाको कार्यान्वयनको अभाव र संरचना साधन स्रोतसम्पन्न नहुनाले पनि समस्या बढ्दै गएको बताए ।