देश

कैदीबन्दीको विचल्ली

नेपालगञ्ज । बाँके जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ ।

तीन सय कैदीबन्दी बस्न सक्ने क्षमताको सो कारागारमा अहिले ६५५ कैदीबन्दी रहेको कारागार प्रमुख मोहन लामिछानेले बताए ।

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको नेपालगञ्जस्थित बाँके जिल्ला कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको भनाइ छ ।

यसलाई नै दृष्टिगत गरी अहिले बाँके जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माणकार्य समेत शुरु गरिएको छ । प्रजिअ केसीका अनुसार, आठ बिगहा क्षेत्रफलमा फैलिएको सो खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण भइरहेका छन् ।

यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिगहा क्षेत्रफलमा नेपालगञ्ज कारागारको निर्माणकार्य थालिएको छ । यी दुबै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने गरी समय निर्धारण गरिएको पनि उहाँले जानकारी दिए ।

“यी दुबै कारागार निर्माण भएपछि सम्भवत् नेपालगञ्जको मानव बस्ती बीचमा रहेको बाँके जिल्ला कारागार त्यहाँ नरहन सक्छ,” प्रजिअ केसीले भने ।

यसैबीच, बाँके जिल्लाका अधिकारकर्मीले बाँके जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको अनुगमन निरीक्षण गरेका छन् ।

अधिकारकर्मी वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी र चित्रबहादुर केसीको टोलीले गरेको अनुगमन निरीक्षणपछि कारागार र थुनुवा कक्षको अवस्था सुधारका लागि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।

उफ बाँकेको गर्मी

प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू) का कारण बाँके जिल्लाको दैनिक जनजीवन प्रभावित बन्दै गएको छ ।

मध्यदिनमा करीब ४५÷४६ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी जनजीवन अत्यन्त कष्टकर भएको छ । आवश्यक काम बाहेक स्थानीबासी बिहान र बेलुका घरवाट बाहिर निस्कदैनन् ।

गर्मी बढदै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

यहाका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् । जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, झाडापखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।

जिल्लाको भेरीअञ्चल अस्पताल, नेपालगञ्ज तथा कोहलपुर शिक्षण अस्पताल, जानकी अस्पताल, सिद्धार्थ अस्पतालमा दैनिक सरदर ३५÷४० जना गर्मीका कारण हुने रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।

अर्कोतर्पm गर्मी बढेसँगै नेपालगञ्जमा विद्युत् अनियमितताका कारण यहाँका नागरिकले थप कष्ट भोग्नु परेको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रबाट वितरण हुँदै आएको विद्युत् नियमित नहुनु, भोल्टेज कम आउनु, कुनै पनि बेला बिना सूचना विद्युत् सेवा बन्द हुनुका कारण नागरिकले थप कष्ट व्योहोरेका छन् ।