देश

आगलागीबाट घर पूर्ण क्षति तीन घाइते, दुईको अवस्था गम्भीर

दोलखा । दोलखा कालिन्चोक गाउँपालिका–९ सुन्द्रावतीको एक घरमा सोमबार राति आगलागी हुँदा घर जलेर नष्ट हुनाका साथै तीन जना घाइते भएका छन् । साबिक सुन्द्रावती–८ को लेखर्कस्थित शंकर पकुवालको घरमा गए राति आगलागी हुँदा २० लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट पकुवालको घरबाहिर बाँधेको पाँच बाख्रा, १० कुखुरा, घरभित्र रहेको एक लाख ५० हजार नगदसहित दुई तोला सुन, ५०० ग्राम चादी, महत्वपूर्ण कागजातसँगै घरभित्र रहेको लत्ताकपडा अन्नपात जलेर नष्ट भएको वडाध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।

वडाध्यक्ष मैनालीका अनुसार राति घरको माथिल्लो तलामा सुतेका शंकर पकुवाल, उनकी श्रीमती गोपिनी पकुवाल र छोरी सीता पकुवाल सुतिरहेकै अवस्थामा आगोमा परी गम्भीर घाइते भएका थिए ।

आगो कसरी लग्यो कसैलाई थाहा नभएको र परिवारका तीन सदस्य घाइते भएकामा शंकरको अवस्था सामान्य तर गोपिनी र छोरीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडाँै पठाएको प्रहरी हबल्दार मनुकुवार सिङले जनाएका छन् ।

पीडित परिवारलाई व्यवस्थापन गर्नका लागि वडाध्यक्ष रामप्रसाद मैनालीको पहलमा तत्कालै रु ५० हजार जम्मा गरी पीडित परिवारलाई दिएको सुन्द्रावती बजार व्यवस्थापनका अध्यक्ष जगनाथ पकुवाले प्रस्ट पार्नुभयो । पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी दोलखाले भाँडाकुँडा तथा लत्ताकपडा पनि सहयोग गरेको छ ।