राजनीति

प्रमुख प्रतिपक्षी काँग्रेसद्वारा विज्ञसँग रायसुझाव लियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमका बारेमा विज्ञसँग परामर्श गरी रायसुझाव लिएको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलको बैठकले नीति तथा कार्यक्रमका बारेमा अर्थविद् तथा पूर्वप्रशासकसँग परामर्श गरेको हो । आइतबार सरकारले संघीय संसद्मा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा बुधबारदेखि छलफल हुदैँछ ।

बैठकले नीति तथा कार्यक्रमका बारेमा समीक्षा गर्नाका साथै उक्त नीतिको सम्बन्धमा संसद्मा बोल्ने विषयका बारेमा छलफल गरेको काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी दिए । यसअघि काँग्रेस संसदीय दलको बैठकले दलका विषयगत समिति बनाई संसद्मा पार्टीका धारणा राख्ने निर्णय गरेको थियो ।