आर्थिक

वाणिज्य-आपूर्ति विभागद्वारा म्याद नाघेका सामग्री नष्ट

काठमाडौँ । लाजिम्पाटमा रहेका दुई पसलबाट रु २७ हजार मूल्य बराबरको सामग्री नष्ट गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा ठूलो परिणाममा म्याद नाघेको सामग्री भेटिएको थियो । बिजी कन्सर्न प्रालिले मूल्यसूची नभएको, म्याद नाघेको र लेबल नभएको सामन बिक्री वितरण गरेको पाइएपछि रु १८ हजार ८३० को खाद्य सामग्री नष्ट गरिएको अनुगमन अघिकृत रामचन्द्र रेग्मीले जानकारी दिए ।

उक्त पसललाई मूल्यसूची बनाएर राख्न, म्याद नाघेको र लेबल नभएको सामान बिक्री वितरण नगर्न तथा म्याद नाघेका सामान ठूलो परिमाणमा बिक्रीस्थलमा राख्नाको कारणसहित सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यस्तै सोही स्थानमा रहेको अरेञ्ज स्टोरबाट रु आठ हजार ३०० बराबरको सामान नष्ट गरिएको छ । व्यवसाय दर्ता नवीकरण तथा नापतौल यन्त्र प्रमाणीकरण नगरेको तथा लेबल नभएका र म्याद नाघेका सामान बिक्री वितरण गरेको पाइएपछि कारणसहित सात दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।