पर्यटन/संस्कृति

तीन सय आरोही सगरमाथामा

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको नवौँ दिन आजसम्म ३०० भन्दा बढी आरोही सगरमाथाको चुचुरामा पुगेका छन् ।

वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएयता आजसम्म ३१६ भन्दा बढी आरोही चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज मात्रै ४० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहीको विवरण संकलन भइरहेको छ । अनुकूल मौसमको प्रतीक्षामा रहेका थोरै संख्याका आरोही मात्र चुचुरामा पुग्न बाँकी छन् । उनीहरु सगरमाथाको शिविर ३ र ४ मा पुगेका छन् ।

गत वैशाख ३० गते आठ शेर्पा आरोहीबाट सगरमाथाको चुचुरासम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो । वसन्त ऋतुको यस याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् ।