मनोरञ्जन

मौलिक बाजामा सजिएको लोक भाकाको जीवन्त गीत

काठमाडौं । ‘सुनकोशी बग्यो सलल अरुण र तमोर भेटाउन,
म आउँछु त्यै नदी तरेर, मायाको तुलबुल मेटाउन,
ए सिम्मौ वारि र पारिको ज्यान एउटै बनाउन ।’

पूर्वी पहाडी जनजीवनलाई लछप्पै भिजाउने एउटा निख्खर लोक भाकाको स्थायी हो यो । किराती पृष्ठभूमिमा तयार भएको यो गीतले सरदर बजारको गीतभन्दा गहन भाव र उचाइ लिएको छ ।

वरिष्ठ गायक तथा सङ्गीतकार जितेन राईको गज्जब परिकल्पनाका कारण यो गीत जीवन्त बनेको गीत–सङ्गीत पारखीहरु बताउँछन् । उसो त गायक तथा सङ्गीतकार जितेन राईले अहिलेसम्म लेख्नुभएको, सङ्गीत गर्नुभएको र गाउनुभएको हजारौँ गीतहरु उत्तिकै चर्चामा आएर जनजिब्रोमा झुण्डिएका छन् ।

तीमध्ये पनि मौलिक किराती बाजाहरुको संयोजनमा तयार पारिएको यस गीतले विशेषगरी संस्कृतिप्रेमी स्रोता तथा दर्शकको मन तानिरहेको गीत–सङ्गीत सम्बद्ध व्यक्तित्वहरुले बताएका हुन् ।

गायक तथा सङ्गीतकार राईले गीतमा नयाँ प्रयोगस्वरुप यलम्बर बाजा, चरीबाजा, मर्चुङ्गा, बिनायो, पात, सुशेलीको सङ्गीत संयोजन गरी गीतलाई अतुलनीय र अमर बनाउनुभएको किरात जागरणका एक अभियन्ता कुशल किरावाले उल्लेख गरेका छन् ।

स्वयं राईले गाउनुभएको लोक भाकाले समस्त किराती मनहरुलाई हुरुक्कै बनाउने स्रोता दर्शकको प्रतिक्रिया छ । जितेन राई किराती सांस्कृतिक सङ्गीतका एक धरोहर भएको भन्दै उहाँको कामकै कारण उनको नामसँग आफूहरुले गर्व गर्ने सङ्गीतकर्मी गीत–सङ्गीतकर्मी स्रष्टा मनोज साङ्सोनको प्रतिक्रिया छ ।

राईको शब्द, सङ्गीत, वाद्यवादन र स्वरको तादम्यताका कारण गीतले मन छोएको स्रोता–दर्शकले प्रतिक्रिया दिएका छन् । विदेशी तथा आधुनिक बाजाको प्रयोग नै नगरी मौलिक बाजामा पनि यति मीठो गीत बनाउन सकिने प्रमाण जितेन राईले पेश गर्नुभएको संस्कृतिकर्मीको भनाइ छ ।

पश्चिमी शैलीका गीतले बजार मिचिरहेको सन्दर्भमा यस्ता गीत–सङ्गीतको विशेष महत्व रहने सङ्गीतकर्मीको धारणा छ । राईकै शब्द, सङ्गीत, स्वर तथा वाद्यवादनमा तयार गीतको भिडियो संस्कृतिकर्मी तथा निर्देशक रोशन राईको निर्देशनमा तयार भएको हो ।

किराती सभ्यता, इतिहास, मिथक तथा मौलिकतासम्बन्धी गीत–संगीत, गीति भिडियो एवं चलचित्रसमेत निर्माण गर्दै आउनुभएको राईको यस गीति भिडियोलाई म्युजिक नेपालबाट सार्वजनिक गरिएको छ । शान्ति राईको व्यवस्थापनमा निर्माण भएको गीति भिडियो मनी चाम्लिङले खिचेका हुन् ।